
काठमाडौँ । बडादसैँको नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको श्रद्धापूर्वक पूजा–आराधना गरिँदैछ। बिहानैदेखि देशभरका शक्तिपीठ तथा घरघरमा भक्तजनले देवीको उपासना गरिरहेका छन्।
सिंहमा सवार, दश हातमा विभिन्न अस्त्र धारण गरेकी चन्द्रघण्टालाई साहस, शान्ति र शक्ति प्रदान गर्ने देवीका रूपमा पूजा गरिन्छ। शास्त्रीय मान्यताअनुसार उहाँको घण्टीको ध्वनिले नकारात्मक शक्ति र भय हटाउने विश्वास छ।
आज भक्तजनले ‘ॐ चन्द्रघण्टायै नमः’ मन्त्र जप गर्दै फलफूल, दूध तथा दुग्धजन्य परिकार, रातो फूल, धूप–दीप अर्पण गरी पूजा गर्ने परम्परा छ। चन्द्रघण्टाको आराधनाले संकट, भय र बाधा हट्दै सुख–शान्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, मैतीदेवी, भद्रकाली र बंगलामुखी लगायतका शक्तिपीठमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ।


