
रचनाकार: गोबिन्द राज ओझा ‘राजन’
मनको मन्दिरभित्र तिम्रै नामको दीप बलेको छ,
मौन प्रेमको कथा आज संसारले गलत पढेको छ।
बदनाम भएँ प्रेम गरी, दोष मलाई नै लगाऊ,
हृदयभित्र लुकेको सत्य एकपटक आएर बुझाऊ।
तिमी टाढा भयौ, जूनको उज्यालो हरायो रातमा,
औँसीले नै बास गर्यो, एक्लो मेरो जीवनमा।
विछोडको यो कठिन घडी, कति पीडादायी भयो,
हाँसोभित्र लुकेको आँसु, कसले देख्न सकेन र?
घाउहरू मुस्कानभित्र चुपचाप मैले छोपिरहेँ,
आफ्नै पीडाको भारी बोकी मौन बाटो रोजिरहेँ।
दोष हजार लगाए पनि प्रेम दोषी हुँदैन,
साँचो मनले चाहेको नाता स्वार्थमा कहिल्यै बिक्दैन।
तिमी पाऊँ भन्ने चाहा छैन, अधिकार खोजेको छैन,
तिम्रो सुखबाहेक अरू कुनै वरदान रोजेको छैन।
राधा–कृष्णको प्रेमजस्तै आत्माको नाता रहोस्,
जन्मजन्मको भावनामा पवित्रताको ज्योति बलोस्।
यो संसारको सीमाभन्दा पर तिमीलाई चाहिरहेँ,
निष्काम प्रेमको फूल बनी मनको बगैँचा सिँगारिरहेँ।
तनको आकर्षण होइन, आत्माको सम्बन्ध हो,
निस्वार्थ भावले सजिएको प्रेम नै सच्चा धर्म हो।
म औँसीको रात भए पनि तिमी पूर्णिमा बनिदेऊ,
विरहले थाकेको मनमा प्रेमको किरण छरिदेऊ।
मिलनभन्दा ठूलो कहिलेकाहीँ त्यागको सम्मान हुन्छ,
साँचो प्रेमको पुरस्कार त आत्मिक सुख नै हुन्छ।


