
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति भारततर्फबाट उम्मेदवारी दिएका बालकृष्ण पाण्डे कांग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन्। पाण्डेले ३ हजार ८२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन्।
भारतमा रहेका नेपाली समुदायबीच लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय पाण्डेको विजयलाई प्रवासी नेपालीको प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रामा सक्रिय रहँदै आएका पाण्डेले प्रवासी नेपालीको हकहित, संगठन विस्तार तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन।
पाण्डेले भारतमा रहेका नेपालीहरूलाई संगठनसँग जोड्ने, उनीहरूका समस्या र मागलाई सम्बन्धित निकायसम्म पुर्याउने तथा आपत्कालीन अवस्थामा सहयोग र समन्वय गर्ने कार्यमा भूमिका निर्वाह गर्दै आएका छन्। महिला तथा बालबालिकाको उद्धार, राहत तथा उपचारलगायत मानवीय सेवाका क्षेत्रमा समेत उनको सक्रियता रहेको जनाइएको छ।
कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पाण्डेले प्रवासमा रहेका नेपालीका समस्या, संगठन विस्तार र पार्टीको जनसम्पर्कलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उनको विजयलाई लामो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर सक्रियता र सामाजिक सेवाको योगदानको सम्मानका रूपमा समेत लिइएको छ। पाण्डेको विजयसँगै भारतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूमा उत्साह बढेको छ। समर्थकहरूले उनको कार्यकाल सफल रहोस् भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।


