दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवरात्रको छैटौँ दिन आज कात्यायनी भगवतीको आराधना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३० गते, शुक्रबार ६:४०

काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज देशभर कात्यायनी भगवतीको श्रद्धापूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रका नौ शक्तिमध्ये छैटौँ स्वरूपका रूपमा पूजिने माता कात्यायनीलाई शक्ति, साहस र विजयकी देवीका रूपमा श्रद्धा गरिन्छ।

धार्मिक मान्यताअनुसार कात्यायनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख तथा दरिद्रता हट्ने र जीवनमा सुख, समृद्धि तथा प्रगतिको मार्ग खुल्ने विश्वास छ।

कात्यायनी नाम कसरी रह्यो ?

पौराणिक कथाअनुसार महर्षि कात्यायनले भगवती पराम्बालाई आफ्नी पुत्रीका रूपमा प्राप्त गर्ने इच्छा राखी लामो समयसम्म कठोर तपस्या गरेका थिए। उनको तपस्याबाट प्रसन्न देवीले पुत्रीका रूपमा जन्म लिएको र त्यसै कारण उनको नाम कात्यायनी रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

अर्को मान्यताअनुसार महिषासुरको अत्याचारबाट त्रिलोकलाई मुक्त गर्न ब्रह्मा, विष्णु र महेश्वरसहित देवताहरूको तेजबाट देवीको उत्पत्ति भएको थियो। महर्षि कात्यायनले सबैभन्दा पहिले देवीको पूजा गरेका कारण पनि उनलाई कात्यायनी भनिएको बताइन्छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार आश्विन कृष्ण चतुर्दशीका दिन प्रकट भएकी देवीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमीमा कात्यायन ऋषिबाट पूजा ग्रहण गरी दशमीका दिन महिषासुरको वध गरेकी थिइन्।

कृष्णलाई पति पाउन गोपिनीहरूले गरिन् कात्यायनी पूजा

कात्यायनी देवीलाई ब्रजमण्डलकी अधिष्ठात्री देवीका रूपमा समेत मानिन्छ। द्वापर युगमा ब्रजका गोपिनीहरूले भगवान् श्रीकृष्णलाई पति रूपमा प्राप्त गर्ने अभिलाषासहित यमुना नदीको किनारमा कात्यायनी देवीको पूजा गरेको धार्मिक कथन छ।

यस्तो छ देवी कात्यायनीको स्वरूप

कात्यायनी देवीलाई सुनजस्तै चम्किलो वर्ण भएकी चतुर्भुज देवीका रूपमा वर्णन गरिएको छ। दाहिने हातमा अभय र वरमुद्रा तथा देब्रे हातमा तरबार र कमलको फूल रहेको मानिन्छ। सिंहलाई उनको वाहनका रूपमा पूजा गरिन्छ।

नवरात्रको छैटौँ दिन श्रद्धा र पूर्ण समर्पणका साथ कात्यायनी भगवतीको आराधना गर्दा धर्म, अर्थ, काम र मोक्ष गरी चार पुरुषार्थ प्राप्त हुने धार्मिक विश्वास छ। यस दिन साँझ बेलको फेदमा बसेर जागरण गर्नु पनि विशेष फलदायी मानिन्छ।

शक्तिपीठमा भक्तजनको भीड

बडादसैँको अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका प्रमुख शक्तिपीठ तथा दसैँघरमा भक्तजनको चहलपहल बढेको छ।
कात्यायनी भगवतीको पूजामा के–के चाहिन्छ ?
कात्यायनी भगवतीको पूजाका लागि देवीको प्रतिमा, रातो कपडा, रातो वा कमलको फूल, कलश, नरिवल, पञ्चपल्लव, शुद्ध जल, पञ्चामृत, अबिर, चन्दन, धूप–दीप तथा नैवेद्यलगायत सामग्री प्रयोग गरिन्छ।
श्रद्धा, विश्वास र भक्तिभावका साथ गरिने कात्यायनी भगवतीको आराधनाले जीवनमा शक्ति, साहस, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु