दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओरियण्टल होटल्स लिमिटेको २९औँ वार्षिक साधारणसभा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३० गते, शुक्रबार १२:५९

ललितपुर। ओरियण्टल होटल्स लिमिटेको २९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा शुक्रबार ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाब पारित गरेको हो।

पाँचतारे होटल रेडिसन सञ्चालन गर्दै आएको ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ९२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष नोक्सानीका कारण सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छैन।

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा होटलको कुल आम्दानी १ अर्ब २ करोड रुपैयाँ रहेको छ। यसमध्ये कोठा बिक्रीबाट २८ करोड ५६ लाख रुपैयाँ, खाद्य तथा पेय पदार्थबाट ३५ करोड ६९ लाख रुपैयाँ, एक्जुकेटिभ लाउन्जबाट ३० करोड ४३ लाख रुपैयाँ र अन्य बिक्रीबाट ८ करोड १४ लाख रुपैयाँ आम्दानी भएको छ।यस्तै, होटलको कुल सञ्चालन खर्च ९३ करोड ३२ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले ९ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा कमाए पनि अन्य खर्च कटाएपछि खुद नोक्सानीमा गएको हो।

कम्पनीका अनुसार नोक्सानी हुनुको प्रमुख कारण होटलको पुरानो भवनको पुनर्निर्माणका क्रममा त्यसबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा बन्द हुनु हो। उक्त भवनको पुनर्निर्माण सन् २०२५ फेब्रुअरीदेखि सुरु गरिएको थियो। यसका अतिरिक्त देश तथा विदेशको राजनीतिक परिस्थितिको प्रभाव, पर्यटक आगमनमा वृद्धि भए पनि काठमाडौंमा नयाँ होटल सञ्चालनमा आउनु र पर्यटकको तुलनामा होटलका कोठाको आपूर्ति बढी हुनु पनि नोक्सानीका कारण रहेको कम्पनीले जनाएको छ।

साधारणसभामा पुनर्निर्माण गरिएको भवनको काम सन् २०२६ सेप्टेम्बरमा सम्पन्न भई होटलका सम्पूर्ण सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी दिइएको थियो। पुनर्निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्षमा राम्रो वित्तीय नतिजा प्राप्त हुने कम्पनीको विश्वास छ।यसैबीच, होटलले वार्षिक प्रतिवेदनको प्रस्तुति र पारदर्शिताका लागि राष्ट्रिय तथा क्षेत्रीय स्तरका सम्मान प्राप्त गरेको जनाएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले सन् २०२६ जुन ३० मा आयोजित कार्यक्रममा सेवा समूहअन्तर्गत ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ बाट होटललाई सम्मानित गरेको थियो। त्यसैगरी, दक्षिण एसियाली लेखापाल महासंघ (साफा) बाट पनि ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ प्राप्त गरेको कम्पनीले जनाएको छ।ओरियण्टल होटल्सले आर्थिक वर्ष २०८०/८१ यता सेयरधनीलाई लाभांश वितरण गरेको छैन। आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीले ५.२६ प्रतिशत प्रतिफल वितरण गरेको थियो।साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार असोज १२ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागी हुन योग्य थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु