
काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। सेतो वर्ण, सेतो वस्त्र तथा आभूषण धारण गरेकी, वृषमा सवार र चार हात भएकी महागौरीलाई शान्ति, पवित्रता, शक्ति र कल्याणकी देवीका रूपमा पूजा गरिन्छ। शास्त्रीय मान्यताअनुसार उहाँको उपासनाले पाप, दोष तथा बाधा–अड्चन नाश भई सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।
पौराणिक कथाअनुसार पार्वतीले बाल्यकालदेखि नै महादेवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। तपस्याका कारण उनको शरीर कालो भएको र शिवजीले गंगाजलले स्नान गराएपछि उनको वर्ण गोरो भई ‘महागौरी’ नाम रहन गएको मान्यता छ।
आज बिहान स्नान गरी शुद्ध भएर गणेश पूजा, कलश स्थापना तथा महागौरीको षोडशोपचार पूजा गर्ने परम्परा छ। पूजा सामग्रीमा कलश, नरिवल, पञ्चपल्लव, अक्षता, फूल, दूबो, चन्दन, अबिर, सिन्दूर, धूप, दीप, नैवेद्य, फलफूल, मिठाई, दूध, दही, महलगायत सामग्री प्रयोग गरिन्छ। पूजा आरम्भमा ‘ॐ गं गणपतये नमः’, दीप प्रज्वलन तथा कलश पूजापछि महागौरीको आराधना गरिन्छ।
महागौरी मूल मन्त्र:
ॐ देवी महागौर्यै नमः।।
प्रार्थना:
श्वेते वृषेसमारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महादेव प्रमोददा।।
नवरात्रमा ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ मन्त्र जप तथा चण्डीपाठ गर्ने परम्परा पनि छ। आज विभिन्न शक्तिपीठमा विशेष पूजाआजा तथा कतिपय स्थानमा पशुबलि दिने चलन छ। पशुबलि नदिनेहरूले आफ्नो कुलपरम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला वा नरिवल आदिलाई प्रतीकात्मक बलिका रूपमा चढाउने गर्दछन्।
यसै दिन कलपूर्जा, हातहतियार तथा सवारीसाधन सफा गरी देवीको शस्त्र–अस्त्रका रूपमा पूजा गर्ने परम्परा पनि रहेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, दक्षिणकालीलगायत तथा उपत्यका बाहिर मनकामना, छिन्नमस्ता, राजदेवी, उग्रतारा, चण्डेश्वरी, पलाञ्चोक भगवती, कालीञ्चोकलगायत शक्तिपीठमा आज विशेष पूजा–आराधना गरिन्छ।


