दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विजयादशमीको उल्लास : आज मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ४ गते, बुधबार ६:१५

काठमाडौँ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। बडादशैंको प्रमुख दिनका रूपमा रहेको आज परिवारका ज्येष्ठ तथा मान्यजनबाट रातो टीका, जमरा र प्रसाद ग्रहण गर्दै आशीर्वाद लिने परम्परा छ।

दशैंघर तथा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएका देवीदेवताको प्रसादका रूपमा आज टीका र जमरा लगाउने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउन चाहनेका लागि आज बिहान १०ः२६ बजेको समय शुभ साइत मानिएको छ।

यद्यपि विजयादशमी आफैं शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत हेर्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्। उनका अनुसार राज्य सञ्चालनमा रहेका व्यक्तिले भने निर्धारित शुभ साइतमै टीका ग्रहण गर्ने शास्त्रीय परम्परा रहेको छ।

देवी विसर्जनको साइत बिहान ८ः४९ बजे

घटस्थापनाका दिन स्थापना गरी नौ दिनसम्म पूजा गरिएको देवीको आज विधिपूर्वक विसर्जन गरिँदै छ। समितिले देवी विसर्जनका लागि बिहान ८ः४९ बजेको समय निर्धारण गरेको छ।
विजयादशमीका दिन घटस्थापनामा राखिएको जमरा तथा कलशको जलबाट अभिषेक गरी टीका ग्रहण गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यस्तो अभिषेकले वर्षभर शान्ति, सुख र समृद्धि प्राप्त हुने मान्यता छ।

टीका र जमरासँगै आशीर्वादको महत्व

विजयादशमीमा रातो टीका र जमरालाई केवल धार्मिक प्रसादका रूपमा मात्र नभई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामनासँग जोडेर हेर्ने गरिन्छ। मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्दै यश, ऐश्वर्य, शक्ति, ज्ञान र दीर्घायुको आशीर्वाद लिने चलन छ।
घटस्थापनाका दिन वैदिक विधिबाट राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। जमराको औषधीय गुणसमेत रहेको विभिन्न वैज्ञानिक अध्ययनबाट पुष्टि भएको बताइन्छ।

रामको विजयसँग जोडिएको धार्मिक विश्वास

धार्मिक मान्यताअनुसार त्रेता युगमा आजकै दिन भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेका थिए। यही विजयको स्मरणमा विजयादशमी मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।
त्यसैले विजयादशमीलाई केवल चाडका रूपमा नभई सत्य, धर्म र दैवी शक्तिको विजयको दिनका रूपमा समेत लिइन्छ।

पुरुष र महिलालाई फरक मन्त्रबाट आशीर्वाद

विजयादशमीमा टीका लगाउँदा परम्परागत रूपमा पुरुषलाई विभिन्न पौराणिक पात्रहरूको गुण तथा विशेषता प्राप्त होस् भन्ने कामना गर्दै मन्त्रद्वारा आशीर्वाद दिने गरिन्छ।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
यस मन्त्रमा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्री, रामको जस्तो शत्रु नाश, नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान तथा नारायणको जस्तो कीर्तिको कामना गरिन्छ।
महिलालाई दुर्गाको स्वरूप मानेर अर्को मन्त्रबाट आशीर्वाद दिने परम्परा छ—
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
यस मन्त्रमार्फत विभिन्न देवीस्वरूपप्रति श्रद्धा प्रकट गर्दै सुख, शक्ति र कल्याणको कामना गरिन्छ।

पूर्णिमासम्म टीका थाप्ने चलन

विजयादशमीकै दिन सबैले टीका लगाइसक्नुपर्ने भन्ने छैन। आज समय नमिलेका व्यक्तिले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्ने धार्मिक परम्परा छ।
दशैंका अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा आफन्त तथा मान्यजनको घरमा टीका थाप्न जानेको चहलपहल बढेको छ। कतिपय समुदायमा भने आफ्नो कुल तथा परम्पराअनुसार रातोको सट्टा दही र अक्षताबाट बनेको सेतो टीका लगाउने चलनसमेत रहेको छ।
यसरी विजयादशमीले धार्मिक आस्था, पारिवारिक मिलन, परम्परा र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको आशीर्वादको संस्कृतिलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु