
काठमाडौँ । बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ।
विजयादशमीका दिन घरपरिवारमा टीका–जमरा लगाएपछि आजदेखि टाढा रहेका आफन्त तथा मान्यजनको घरमा पुगेर आशीर्वाद लिने चलन छ। मान्यजन टाढा रहेका परिवारका सदस्यहरू भने आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्त तथा अग्रजकहाँ पुगेर दसैँको टीका थाप्ने गर्छन्।
नेपालका विभिन्न स्थानमा दसैँको टीका लगाउने परम्परा फरक–फरक रहेको पाइन्छ। केही ठाउँमा विजयादशमीको दिन मात्र टीका लगाउने प्रचलन रहे पनि अधिकांश स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने परम्परा छ।
नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।


