दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहार–छठमा रैथाने उत्पादनको उत्सव : काठमाडौंमा ‘स्वर्णिम कृषि तथा रैथाने व्यापार मेला–२०८३’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १० गते, मंगलवार १४:०८

काठमाडौं, कार्तिक १०, २०८३। स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवर्द्धन, किसान तथा उत्पादकको बजार पहुँच विस्तार र नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला–२०८३’ आयोजना हुने भएको छ।

रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण नेपालको संयुक्त आयोजनामा आगामी कार्तिक २० देखि २२ गतेसम्म काठमाडौंको धापासी हाइट, टोखा–४ स्थित रैथाने घरमा मेला सञ्चालन हुनेछ।
तिहार तथा छठ पर्वको अवसरमा आयोजना हुन लागेको यस मेलामा देशका विभिन्न हिमाली, पहाडी तथा तराई क्षेत्रका किसान, उत्पादक तथा साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषि उपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ।

मेलामा करिब ५० वटा स्टल रहनेछन्। तीन दिनको अवधिमा करिब ३ हजार उपभोक्ता तथा सरोकारवालासम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पहुँच पुर्‍याउने आयोजकको अपेक्षा छ।

किसानदेखि उपभोक्तासम्म प्रत्यक्ष सम्बन्ध

मेलाको मुख्य उद्देश्य किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु तथा किसान र साना उद्यमीको आयआर्जनमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। साथै, स्वदेशी उत्पादनको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्दै स्थानीय बाली, कृषि जैविक विविधता, परम्परागत ज्ञान तथा सीप र नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा समेत मेलाले जोड दिनेछ।

<strong>पहिलो दिन : स्वर्णिम कृषि र कृषि जैविक विविधतामाथि अन्तरक्रिया
मेलाको पहिलो दिन कार्तिक २० गते दिउँसो १ बजे औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि दिउँसो २ बजेदेखि ४ बजेसम्म राष्ट्रिय जीन बैंकको प्रस्तुतिसहित स्वर्णिम कृषिको अवधारणा, रैथाने बाली संरक्षण तथा कृषि जैविक विविधताको महत्व विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ।

दोस्रो दिन : मौलिक खानाको संरक्षण र प्रवर्द्धन

कार्तिक २१ गते नेपाली मौलिक खानाका परिकारको संरक्षण तथा प्रवर्द्धनमा होटल, रेस्टुरेन्ट, विद्यालयलगायत संस्थाको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ।
यस अवसरमा देशका विभिन्न समुदाय तथा क्षेत्रका १५ वटाभन्दा बढी रैथाने एवं मौलिक परिकार प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। यसले नेपाली खानाको विविधता, मौलिकता र सांस्कृतिक पहिचानलाई उपभोक्तामाझ परिचित गराउने अपेक्षा गरिएको छ।

तेस्रो दिन : वातावरणमैत्री चुलोदेखि सेलरोटी प्रतियोगितासम्म

मेलाको तेस्रो दिन कार्तिक २२ गते आधुनिक तथा वातावरणमैत्री चुलोको महत्व, ऊर्जा बचत, धुवाँबाट हुने प्रदूषण न्यूनीकरण तथा रैथाने परिकार तयार गर्ने विधिबारे छलफलसँगै व्यावहारिक अभ्यास गरिनेछ।
सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म स्थानीय महिलाको मौलिक पाककला तथा परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सेलरोटी बनाउने प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा १० जना स्थानीय महिलाको सहभागिता रहनेछ भने उत्कृष्ट तीन प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।

परम्परागत ज्ञान, सीप र प्रविधिको प्रत्यक्ष प्रदर्शन

मेलामा कृषि तथा खाद्य उत्पादनको प्रदर्शनी र बिक्रीसँगै थोपा सिँचाइ प्रविधि, गोबर मल, झोल मल, स्थानीय बीउबिजन, बिरुवा तथा अन्य वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शन गरिनेछ।
यसका साथै नेपाली मौलिक ज्ञान, सीप तथा परम्परागत प्रविधिको महत्व उजागर गर्ने उद्देश्यले दुना–टपरी गाँस्ने, दारको ठेकीमा मोही पार्ने, ढिकी, जाँतो र घट्टको प्रयोग तथा मकै भुट्ने लगायतका परम्परागत अभ्यासको समेत प्रत्यक्ष प्रदर्शन गरिनेछ।

यी गतिविधिमार्फत नेपाली समाजमा पुस्तौँदेखि प्रयोग हुँदै आएका मौलिक ज्ञान, सीप, प्रविधि तथा परम्परागत जीवनशैलीको महत्व नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको छ।
तीनदिने मेला मात्र होइन, दीर्घकालीन बजार सम्बन्धको अभियान
आयोजकका अनुसार ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला–२०८३’ तीनदिने व्यापारिक गतिविधिमा मात्र सीमित नभई किसान, उत्पादक, उद्यमी, बजार र उपभोक्ताबीच दीर्घकालीन सम्बन्ध स्थापित गर्ने साझा अभियान हो।
मेलाले स्थानीय उत्पादनको बजारीकरण तथा कृषि उद्यमशीलताको विकाससँगै महिला तथा युवा उद्यमीलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तामा रैथाने कृषि तथा नेपाली मौलिक खाद्य संस्कृतिप्रति रुचि अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ।

आयोजक संस्थाले सरकारी निकाय, विकास साझेदार, निजी क्षेत्र, सहकारी, किसान समूह, उत्पादक, उद्यमी, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा आम उपभोक्तालाई मेलामा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको आर्थिक सशक्तीकरण, कृषि जैविक विविधताको संरक्षण तथा नेपाली मौलिक खाद्य संस्कृतिको जगेर्ना गर्ने यस अभियानमा सबै पक्षको सहकार्य र सहभागिताले महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु