
काठमाडौं, २० कार्तिक २०८३। स्थानीय तथा रैथाने कृषि उत्पादनको प्रवद्र्धन, किसानको बजार पहुँच विस्तार तथा नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको ‘स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेला २०८३’ आजदेखि काठमाडौंको टोखा–४ स्थित धापासी हाइट रैथाने घरमा सुरु भएको छ।
रैथाने एग्री प्रडक्ट्स नेपाल र विश्व प्रकृति संरक्षण नेपालको संयुक्त आयोजनामा सञ्चालित मेला कार्तिक २० देखि २२ गतेसम्म तीन दिन सञ्चालन हुनेछ।

तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको मेलामा देशका विभिन्न हिमाली, पहाडी तथा तराई क्षेत्रका किसान, उत्पादक तथा साना उद्यमीले उत्पादन गरेका स्थानीय तथा रैथाने कृषि उपज, खाद्यवस्तु, परम्परागत परिकार, रैथाने बीउबिजन तथा वातावरणमैत्री कृषि सामग्रीको प्रदर्शनी तथा बिक्री भइरहेको छ।
मेलामा करिब ५० वटा स्टल रहेका छन् भने तीन दिनमा करिब ५ हजार उपभोक्ता तथा सरोकारवालाको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहने आयोजकले अपेक्षा गरेका छन्।

मेलाको मुख्य उद्देश्य किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु, किसान तथा साना उद्यमीको आयआर्जनमा सहयोग पुर्याउनु र स्वदेशी उत्पादनको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
यसका साथै, स्थानीय बाली, कृषि जैविक विविधता, परम्परागत ज्ञान तथा सीप र नेपाली मौलिक खाद्य संस्कृतिको संरक्षण एवं पुस्तान्तरणमा समेत मेलाले जोड दिएको छ।


