
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार तथा उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले उत्पादन गरेका सरसफाइसम्बन्धी सामग्रीले काठमाडौंको थलीमा जारी दोस्रो थली महोत्सवमा उपभोक्ताको ध्यान खिचेको छ।
कागेश्वरी मनोहरा नगरपालिका भवन परिसरनजिकै थली चौरमा आयोजित महोत्सवमा संगठनले अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादित भाँडा माझ्ने साबुन, नेपाली तथा इन्डियन हार्पिक, सेतो फिनाइल र ह्यान्डवासलगायतका सामग्री बिक्रीका लागि राखेको छ। ती सामग्री बजार मूल्यभन्दा सुपथ मूल्यमा उपलब्ध गराइएको संगठनले जनाएको छ।
जन्मजात अपाङ्गता भएका संगठनका सदस्य हस्तबहादुर माझी (शितल)का अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित संगठनको उत्पादन केन्द्रबाट विभिन्न प्रकारका सरसफाइ सामग्री उत्पादन हुँदै आएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको सीप, श्रम र क्षमतालाई उत्पादनमूलक क्षेत्रमा जोडेर आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्यले उत्पादन कार्य अघि बढाइएको संगठनले जनाएको छ। अवसर, बजार र आवश्यक सहयोग उपलब्ध गराउन सके अपाङ्गता भएका व्यक्तिहरू पनि सक्षम उद्यमी तथा आत्मनिर्भर बन्न सक्ने संगठनको विश्वास छ।
संगठनले आफ्ना उत्पादनको थोक बिक्री तथा वितरणका लागि समेत सम्पर्क खुला गरेको छ। थोक कारोबारका लागि प्रकाश श्रेष्ठ (९८४११५६०४६) र राजु धिताल (९८१०००६९६९) लाई सम्पर्क गर्न सकिने ब्यानरमा उल्लेख गरिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको स्वरोजगार र उद्यमशीलतालाई प्रवर्द्धन गर्न व्यवसायी तथा सामाजिक अगुवा मधु क्षेत्रीले संगठनको स्थापना कालदेखि नै साथ र सहयोग गर्दै आएको संगठनका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।
अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्रीको प्रयोग र बजार विस्तारमा सहयोग गर्न सके उनीहरूको आत्मविश्वाससँगै आर्थिक आत्मनिर्भरता पनि बढ्ने संगठनको अपेक्षा छ। ‘सहयोग होइन, अवसर र बजार’ उपलब्ध गराउने वातावरण निर्माण गर्न सके अपाङ्गतालाई कमजोरीका रूपमा होइन, क्षमता र सम्भावनाका रूपमा स्थापित गर्न सकिने संगठनको भनाइ छ।


