
काठमाडौं । यमपञ्चकअन्तर्गत आज दोस्रो दिन देशभर कुकुर तिहार र नरक चतुर्दशी मनाइँदैछ। यसै दिन साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गर्ने परम्परा पनि रहेको छ।
कुकुर तिहारका अवसरमा मानिसहरूले कुकुरलाई फूलमाला, टीका तथा मिठामिठा परिकार खुवाएर पूजा गर्ने गर्छन्। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा लिइने भएकाले यस दिन कुकुरको पूजा गर्ने चलन छ।
त्यस्तै, नरक चतुर्दशीका दिन बिहानै स्नान गरी दीप प्रज्वलन गर्ने तथा विभिन्न धार्मिक विधि पूरा गर्ने परम्परा छ। साँझ भने घर–आँगन सफा गरी दीपावलीसहित लक्ष्मीको पूजा गरिन्छ।
लक्ष्मीपूजाका लागि घर, पसल तथा व्यावसायिक प्रतिष्ठानहरू सजाउने, झिलिमिली बत्ती बाल्ने र दीप प्रज्वलन गर्ने गरिन्छ। धन–सम्पत्ति र समृद्धिकी देवी लक्ष्मीको पूजा गरे घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक विश्वास छ।
यमपञ्चकको यो अवसरमा आज साँझ देशभर विशेष उत्साहका साथ लक्ष्मीपूजा गरिँदैछ।


