
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोवद्र्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा गरी मनाइँदैछ। यस अवसरमा पूजा गरिएका गोरु तथा हलिलाई विभिन्न मीठा परिकार खुवाउने परम्परा छ।
गोवद्र्धन पूजाका लागि घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाइन्छ। त्यसलाई गोवद्र्धन पर्वतको प्रतीक मानेर विधिपूर्वक पूजा गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएको स्मरणमा यो पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएको दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।
धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएका थिए। यही विश्वासका आधारमा आज बली राजाको समेत पूजा आराधना गरिन्छ। तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा पनि यसै धार्मिक विश्वाससँग जोडिएको छ।
कृषि कर्ममा महत्वपूर्ण योगदान पुर्याउने गोरुको पनि आज विशेष पूजा गरिन्छ। वर्षभरि खेतबारी जोतेर मानव जीवनमा सहयोग पुर्याउने गोरुलाई मीठा परिकार खुवाउँदै सम्मान गर्ने चलन छ। गोरुलाई भगवान् शिवको वाहन नन्दी अर्थात् साँढेको स्वरूप मानेर पूजा गर्ने परम्परासमेत रहेको छ।त्यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपातीमा संलग्न हुने हलि तथा कृषि कर्ममा योगदान पुर्याउने किसानलाई पनि आज सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाइन्छ। यही कारण तिहारको पाँचौँ दिनलाई ‘हलि तिहार’ समेत भन्ने गरिन्छ।


