तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज भाइटीका : दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २५ गते, बुधबार ६:३६

काठमाडौँ । तिहारको अन्तिम दिन मनाइने भाइटीका अर्थात् यमद्वितीया दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता सुदृढ गर्ने विशेष पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, स्वास्थ्य, यश र दीर्घायुको कामना गर्दै सप्तरंगी टीका तथा मखमली, सयपत्री र दुबोको माला लगाइदिने परम्परा छ।

पौराणिक कथाअनुसार यमुनाले कार्तिक शुक्ल द्वितीयाका दिन आफ्ना दाजु यमराजलाई घरमा बोलाएर सत्कार गरेकी थिइन्। यमराजले प्रसन्न भएर वर माग्न भनेपछि यमुनाले दाजुभाइ–दिदीबहिनीको प्रेम सधैँ अटल रहोस् र दाजुभाइको आयु तथा कीर्ति बढिरहोस् भन्ने वर मागेकी थिइन्। यही कथासँग जोडिएको भाइटीकाको परम्परा आजसम्म कायम छ।

भाइटीकाका दिन दिदीबहिनीले दियो, कलश र गणेशको पूजा गरी दाजुभाइलाई तेल र पानीको धाराले छेक्ने, फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गर्ने र ओखर फुटाउने चलन छ। त्यसपछि सप्तरंगी टीका र विभिन्न फूलका माला लगाइदिँदै दही, सेलरोटी, फलफूल, मिठाईलगायतका परिकार तथा उपहार दिने गरिन्छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई आफ्नो सामर्थ्यअनुसार उपहार तथा दक्षिणा दिने परम्परा छ।

भाइटीकामा दिदीबहिनी नभएकाहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका तथा आशीर्वाद लिने प्रचलनसमेत रहेको छ। मन्दिर भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।

नेपालमा यस वर्ष भाइटीकाको शुभ साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। स्थानअनुसार विदेशमा टीकाको समय फरक हुन सक्नेछ। परम्पराअनुसार टीका लगाउने दाजुभाइ पश्चिम फर्कने र टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने चलन छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु