दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साइप्रसमा चासोक तङनामको तयारी तीव्र, अध्यक्ष रेश्मा लिम्बूको नेतृत्वमा भव्य कार्यक्रम

मनिषा अर्याल
प्रकाशित मिति : २०८३ कार्तिक २७ गते, शुक्रबार ६:४३

निकोसिया, साइप्रस । हजारौँ किलोमिटर टाढा परदेशी भूमिमा रहे पनि आफ्नो मौलिक भाषा, धर्म, संस्कार, संस्कृति र पहिचानलाई जीवन्त राख्दै आएका किरात याक्थुङ समुदायले यस वर्षको महान् चाड चासोक तङनाम यले तङ्बे ५०८६ लाई विशेष रूपमा मनाउने तयारी तीव्र पारेका छन्।

किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा आगामी १३ डिसेम्बर २०२६, आइतबार लिमासोलस्थित ब्रिटानिया म्युजिक हलमा बृहत् शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष रेश्मा लिम्बूले गरिरहनुभएको छ।

“भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौँ, लोपोन्मुख चाडपर्व र इतिहासको अस्तित्व जोगाऔँ” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रमलाई आयोजकले केवल सांस्कृतिक जमघट नभई प्रवासमा नेपाली समुदायको पहिचान, एकता र मौलिकताको उत्सवका रूपमा लिएको जनाएको छ।

कार्यक्रममा किरात याक्थुङ समुदायका मौलिक सांस्कृतिक प्रस्तुतिले विशेष आकर्षण थप्ने अपेक्षा गरिएको छ। ढोलको तालमा प्रस्तुत गरिने केःलाङ (च्याब्रुङ नाच), या:लाङ (धान नाच), लिम्बू मौलिक भेषभूषा तथा संस्कार झल्काउने विशेष झाँकीलगायतका प्रस्तुति कार्यक्रममा रहनेछन्।
त्यसैगरी साइप्रसमा रहेका नेपाली कलाकारहरूको लाइभ दोहोरी, गायन तथा नृत्यसँगै विभिन्न जातजातिका मौलिक भेषभूषा र संस्कृतिलाई समेटिएका मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।

कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ। प्रवेश शुल्क २० युरो निर्धारण गरिएको छ भने सहभागीका लागि खाना तथा यातायातको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
विदेशमा रहेर पनि आफ्नो मौलिक पहिचान र सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्ने प्रयासका रूपमा हेरिएको यस कार्यक्रमले साइप्रसमा रहेका नेपाली समुदायबीच आपसी एकता र सद्भाव थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा साइप्रसलाई कर्मभूमि बनाउँदै आएका समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन आयोजकले हार्दिक अपिल गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु