
काठमाडौँ, कार्तिक २८। सामुदायिक स्वास्थ्य सेवा परिषद्को २३औँ वार्षिक साधारण सभा संस्थागत समीक्षा, महत्वपूर्ण निर्णय तथा सम्मान कार्यक्रमसहित शनिबार काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू डल्लुआवासस्थित सिद्धार्थ सडकमा सम्पन्न भएको छ।
परिषद्का अध्यक्ष सहप्राध्यापक केशरबहादुर मानन्धरको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
सभाले परिषद्को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको छ। संस्थाको बदलिँदो आवश्यकता, सेवा विस्तार र व्यवस्थापकीय सुधारलाई ध्यानमा राख्दै प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावसमेत पारित गरिएको छ।
सभामा परिषद्का महासचिव दीपक चन्द्र गौतमले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले परिषद्ले समुदायको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा आधुनिक चिकित्सा उपकरण थप गर्ने, विशेषज्ञ चिकित्सकीय सेवा विस्तार गर्ने, दक्ष जनशक्तिको परिचालन, भौतिक पूर्वाधार सुदृढीकरण तथा व्यवस्थापकीय प्रणालीमा सुधार गर्ने योजना रहेको जानकारी दिनुभयो।
कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले आर्थिक वर्षको आय–व्यय तथा आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक पारदर्शिता, स्रोतसाधनको उचित परिचालन, खर्च व्यवस्थापन र संस्थाको आर्थिक दिगोपनका विषयमा सदस्यहरूले छलफल तथा सुझाव दिएका थिए।
सामुदायिक स्वास्थ्य सेवामा सहकार्य आवश्यक
परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले समुदायको स्वास्थ्य सेवामा संस्थाले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै स्वास्थ्य सेवा सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। संस्थाको विकास र निरन्तरताका लागि सदस्य, पदाधिकारी, चिकित्सक, कर्मचारी तथा स्थानीय समुदायबीच आपसी विश्वास, सहकार्य र एकता आवश्यक रहेको उहाँको भनाइ थियो।
महासचिव गौतमले परिषद् समुदायको स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर स्थापित संस्था भएको बताउँदै आर्थिक तथा सामाजिक अवस्थाका कारण कुनै पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो।
उहाँले संस्थाको विकासलाई भौतिक संरचना र सेवा विस्तारमा मात्र सीमित नगरी संस्थागत सुशासन, आर्थिक पारदर्शिता, जिम्मेवार व्यवस्थापन, कर्मचारीको कार्यक्षमता, चिकित्सकीय सेवाको गुणस्तर र सेवाग्राहीको विश्वासलाई समान महत्व दिनुपर्ने बताउनुभयो।
परिषद्लाई आधुनिक स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड
अध्यक्ष मानन्धरले परिषद्को २३औँ साधारण सभा वार्षिक गतिविधि र आर्थिक अवस्थाको समीक्षा मात्र नभई संस्थाको विगतको योगदानको मूल्याङ्कन, वर्तमान अवस्थाको समीक्षा र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।
उहाँले संस्थापक, पूर्वअध्यक्ष, पदाधिकारी, आजीवन तथा साधारण सदस्य, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानको प्रशंसा गर्दै संस्थाको गरिमा, प्रतिष्ठा र विश्वसनीयता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।
स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, प्रविधिगत परिवर्तन र समुदायको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै परिषद्को सेवा प्रणालीलाई थप आधुनिक, गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
वडा कार्यालयबाट सहयोगको प्रतिबद्धता
प्रमुख अतिथि वडाध्यक्ष डंगोलले परिषद्ले स्थानीय समुदायमा लामो समयदेखि पुर्याउँदै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै सामुदायिक स्वास्थ्य संस्थाको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
परिषद्को विकास, आवश्यक समन्वय तथा सेवा विस्तारका लागि वडा कार्यालयका तर्फबाट सम्भव सहयोग र सहकार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्वमन्त्री जीवनराम श्रेष्ठले स्वास्थ्य, शिक्षा र सामाजिक सेवा समाज विकासका प्रमुख आधार भएको बताउँदै सामुदायिक संस्थाले स्थानीय तह र जनसमुदायसम्म सेवा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
परिषद्का प्रमुख सल्लाहकार प्रा. डा. बुलन्द थापाले आधुनिक प्रविधि र दक्ष जनशक्तिबिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नहुने बताउनुभयो। उहाँले रोगको रोकथाम, समयमै स्वास्थ्य परीक्षण, सही निदान, उपचार र उपचारपछिको परामर्शलाई स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
पूर्वअध्यक्ष हरिगोपाल श्रेष्ठले परिषद्को स्थापनाकालीन योगदान स्मरण गर्दै संस्थाको इतिहास, संस्थापक तथा अग्रजहरूको योगदानलाई संरक्षण गर्दै नयाँ पुस्तालाई नेतृत्व र विकास प्रक्रियामा सहभागी गराउनुपर्ने बताउनुभयो।
उत्कृष्ट चिकित्सक र कर्मचारी सम्मानित
सभाको अवसरमा परिषद्मा उत्कृष्ट सेवा, व्यावसायिक दक्षता र समर्पण प्रदर्शन गर्ने चिकित्सक तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
‘हरिगोपाल–मेनका श्रेष्ठ उत्कृष्ट चिकित्सक पुरस्कार’ बाट मुटुरोग विशेषज्ञ डा. सन्तोष लाल श्रेष्ठ र छालारोग विशेषज्ञ डा. सञ्जय शाक्य सम्मानित हुनुभयो।
त्यस्तै, ‘केशरबहादुर–रञ्जना उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट अहेब सत्यदेवी गुरुङ र ल्याब असिस्टेन्ट लक्ष्मण महर्जन पुरस्कृत हुनुभयो।
कार्यक्रममा परिषद् र सामाजिक सेवामा सक्रिय रोटरी क्लब अफ कपनका अमर हाडा तथा रोटरी क्लब अफ न्यूरोडका प्रतिनिधिसहित परिषद्का साधारण, आजीवन तथा मानार्थ सदस्य, समाजसेवी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन परिषद्की सचिव निशा अधिकारी थापाले गर्नुभएको थियो।
सभाले आगामी दिनमा आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग, विशेषज्ञ चिकित्सकीय सेवा विस्तार, दक्ष जनशक्तिको व्यवस्थापन, स्वास्थ्य पूर्वाधार विकास, आर्थिक पारदर्शिता तथा सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
२३औँ वार्षिक साधारण सभाले संस्थाको विगतको समीक्षा र आगामी कार्यदिशा तय गर्दै परिषद्लाई थप सुदृढ, आत्मनिर्भर, आधुनिक र जनउत्तरदायी सामुदायिक स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने आधार तयार गरेको छ।


