
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व छठ आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ। विशेषगरी तराई–मधेस क्षेत्रमा मनाइने छठ पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत व्यापक रूपमा मनाउन थालिएको छ।
चार दिनसम्म मनाइने छठको आज मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई ‘सन्ध्या अर्घ्य’ अर्पण गर्दैछन्। व्रतालुहरू दिनभर निराहार बसेर साँझ पूजा सामग्रीसहित जलाशयमा कम्मरसम्म पानीमा उभिई सूर्यदेवको आराधना गर्ने परम्परा छ।
छठको पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन ‘खरना’ सम्पन्न भइसकेका छन्। खरनाका दिन व्रतालुहरूले निराहार व्रत बसेर साँझ दूध, चामल र सख्खरबाट बनाइएको खीर प्रसादका रूपमा ग्रहण गरेका थिए।
छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिएपछि व्रत समापन गरिनेछ। त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी आफन्त तथा श्रद्धालुहरूलाई बाँड्ने परम्परा छ।
छठ पूजामा उखु, केराको बोट तथा फल, नरिवल, बेसार, अदुवा, जौलगायत सामग्रीसँगै ठेकुवा र भुसुवा विशेष प्रसादका रूपमा प्रयोग गरिन्छ। सूर्यदेव र षष्ठी भगवतीको आराधना गर्दा परिवारमा सुख–शान्ति, समृद्धि, सन्तान सुख तथा दीर्घायु प्राप्त हुने जनविश्वास छ।
अहिंसा, परोपकार, शुद्धता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने छठ पर्वले सामाजिक सद्भाव र एकताको भावना समेत बलियो बनाउँदै आएको छ।


