
थाइल्याण्ड — नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं माननीय बोधनारायण श्रेष्ठ र थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्ति (PNO) तथा गैरआवासीय नेपाली संघ (NRNA) का प्रतिनिधिहरूबीच विशेष भेटघाट भएको छ।
भेटघाटमा PNO संयोजक कुमार कार्की, NRNA थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकाललगायत सहभागी थिए।

भेटमा विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई मातृभूमिसँग जोड्न नेपाल सरकारले PNO परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। PNO संयोजक कार्कीले उक्त मागसहितको अनुरोधपत्र सभापति श्रेष्ठलाई हस्तान्तरण गरे।
त्यस्तै, नेपालमा अध्ययन गर्न चाहने तथा अध्ययनरत नेपाली मूलका विद्यार्थी र उनीहरूका अभिभावकले भोग्दै आएका भिसासम्बन्धी समस्याको समाधान तथा नेपाल आवतजावतमा सहजीकरण गर्न पनि माग गरिएको थियो।
NRNA थाइल्याण्डका प्रतिनिधिहरूले नेपाली मूलका व्यक्तिहरूले नेपाल भ्रमणका क्रममा भोग्ने समस्या र विद्यमान भिसा नीतिबारे सभापति श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। उनीहरूले अन्य मुलुकले आफ्ना डायस्पोरालाई उपलब्ध गराउँदै आएका सुविधाको तुलनामा नेपालले पनि नेपाली मूलका व्यक्तिका लागि सहज व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सभापति श्रेष्ठले उठाइएका माग तथा समस्यालाई सकारात्मक रूपमा लिँदै सम्बन्धित निकायसम्म विषय पुर्याएर समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटमा विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको पहिचान सुनिश्चित गर्ने, नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउने तथा नेपाल आवतजावतलाई सहज बनाउने विषयमा छलफल भएको थियो।


