
गोरखा, २२ मङ्सिर । गोरखा क्षेत्र नं २ मा प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि कांग्रेसका युवा नेता एवम् पूर्व सांसद प्रकाशचन्द्र दवाडीसहित आधा दर्जनले दावी गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आसन्न निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएसँगै कांग्रेसबाट दवाडीसहित ६ जनाले दावी गरेका हुन् ।
विस २०७४ सालमा गोरखा क्षेत्र नं २ प्रदेश (ख)मा कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित दवाडी जनतामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
“मेरो राजनीति समाजको टेवाको लागि, मेरो राजनीति तपाईँहरुकै सेवाको लागि” भन्ने नारासहित उम्मेदवार बनेका दवाडी विस २०७४ मा लमजुङ, तनहुँ, चितवन, धादिङ र गोरखा जिल्लामा कांग्रेसबाट जित्ने एक्लो सांसदसमेत हुन् ।
उक्त बेला गोरखासहित छिमेकी जिल्ला लमजुङ, तनहुँ, चितवन र धादिङमा कांग्रेसले प्रतिनिधीसभा तथा प्रदेशसभा जित्न नसकेको अवस्थामा दवाडीले भने गोरखा क्षेत्र नं २ प्रदेश (ख)मा निर्वाचन जितेर कांग्रेसको इज्जत राखेका थिए । तत्कालिन समयमा नेकपा गठबन्धनलाई हराउँदै दवाडी निर्वाचित भएका थिए ।
गोरखा क्षेत्र नं २ मा दवाडीसहित दिपकबाबु कँडेल, नवीन श्रेष्ठ, ओम गुरुङ, वेदप्रसाद काप्री र मोहन पोखरेलले दावी प्रस्तुत गरेका छन् । यस्तै, समानुपातिकतर्फ रविकला खनाल, मन कुमारी गुरुङ र सलाउदिन मिया रहेका छन्
केन्द्रीय कार्यालयको निर्देशन अनुसार दावी गरिएका नाममध्येबाट एक सिटका लागि प्रक्रिया पुर्याई तीन जनाको नाम केन्द्रमा पठाउनुपर्ने हुन्छ । समानुपातिकतर्फको बन्द सूची पुस १८ र १९ गते पेस गर्नुपर्ने र प्रत्यक्षतर्फको निर्वाचन फागुन २१ गते तोकिएको छ भने राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुनेछ ।


