
आगामी वैशाख १३ गतेदेखि १५ गतेसम्म ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ रसुवाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वतीकुण्डमा हुन लागेको ‘याक तथा चौंरी महोत्सवको सन्दर्भमा पालिका प्रमुख बुर्चुङ तामाङसंग गरिएको कुराकानी:
यो ‘याक तथा चौंरी महोत्सव’आयोजना गर्ने मुख्य उद्देश्य के हो ?
यस महोत्सवको प्रमुख उद्देश्य ग्रामीण पर्यटन प्रवर्द्धन गर्नुका साथै याक तथा चौंरी पालनजस्तो परम्परागत पेशाको संरक्षण र प्रवर्द्धन गर्नु हो। स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो लक्ष्य हो।
हाम्रो सान, हाम्रो पहिचान’ भन्ने मूल नाराको सन्देश के दिन खोजिएको हो ?
यो नारा हाम्रो मौलिक संस्कृति, पेशा र परम्पराप्रतिको गर्वलाई अभिव्यक्त गर्ने माध्यम हो। याक तथा चौंरी पालनलाई ‘कालो हीरा’ का रूपमा स्थापित गर्दै यसको आर्थिक र सांस्कृतिक महत्वलाई उजागर गर्न खोजिएको हो।
महोत्सवले स्थानीय किसान तथा गोठालाहरूलाई कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ?
यसले किसान र गोठालाहरूको मनोबल बढाउनेछ। उनीहरूले उत्पादन गरेका वस्तुहरूलाई बजार उपलब्ध गराउने र उनीहरूको पेशाप्रति आकर्षण बढाउने महत्वपूर्ण अवसर सिर्जना गर्नेछ।
महोत्सवमा आउने पर्यटकहरूले के–कस्ता विशेष अनुभव लिन सक्नेछन् ?
पर्यटकहरूले पार्वतीकुण्ड दर्शन, याक चिज कारखाना अवलोकन, प्राचीन गुम्बा भ्रमण, ज्यार्सा तेन्जो डाँडा हाइकिङ र रुबी भ्याली पदयात्रा जस्ता गतिविधिहरू अनुभव गर्न सक्नेछन्। साथै, स्थानीय अर्गानिक खानाका स्वाद लिन पाउनेछन्।
गत्लाङ गाउँ ‘ब्ल्याक भिलेज’ को रूपमा परिचित छ, यसको विशेषता के हो ?
गत्लाङ गाउँ काठैकाठको कालो छाना भएका घरहरूका कारण ‘ब्ल्याक भिलेज’ भनेर चिनिन्छ। यहाँको तामाङ समुदायको मौलिक संस्कृति, जीवनशैली र परम्पराले यसलाई विशेष बनाएको छ।
सांस्कृतिक पक्षलाई महोत्सवमा कसरी प्रस्तुत गरिँदैछ ?
महोत्सवमा लामा नाच, स्याब्रु नाच लगायतका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन्। यसले हाम्रो परम्परागत कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउनेछ।
आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना कस्तो छ ?
यो महोत्सवलाई नियमित कार्यक्रमका रूपमा विकास गर्ने हाम्रो योजना छ। यसलाई अझ व्यवस्थित र व्यापक बनाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखेका छौं, जसले दीर्घकालीन रूपमा पर्यटन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ।
यस क्षेत्रका प्रमुख प्राकृतिक र कृषि स्रोतबारे केहि बताईदिनुस न ?
हाम्रो गाउँपालिकामा सुन्दर हिमाली दृश्य, पार्वतीकुण्ड जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू छन्। यहाँको जमिन उपजाउ छ र कृषि उत्पादन विशेष गरी धान, मकै, आलु, तरकारी, जडीबुटी र पशुपालन (याक-चौंरी) निकै समृद्ध छ। यस क्षेत्रले गाउँ पर्यटन (Agro-tourism) र हाइड्रो–पावर पर्यटनको लागि ठूलो सम्भावना बोकेको छ।
याक र चौंरी पालनले स्थानीय समुदायलाई कस्तो लाभ पुर्याउँछ?
याक-चौंरी पालनले स्थानीय आर्थिक अवस्था सुधार्न सहयोग पुर्याउँछ। मासु, दूध, छाला, ऊन र मलको उत्पादनले कृषकलाई स्थायी आम्दानी दिन्छ। साथै, “बुकीको कालो हीरा” जस्ता स्थानीय प्रजातिहरूको संरक्षणले जैविक विविधता र पर्यटन आकर्षणमा योगदान पुर्याउँछ।
हाइड्रो पर्यटन र ग्रामीण पर्यटनबारे योजना के छन्?
हामीले यहाँको प्राकृतिक स्रोत (जस्तै रुख–पानी, झरना, पर्वत र ताल) प्रयोग गरेर ग्रामीण पर्यटन, होमस्टे कार्यक्रम र हाइकिङ ट्रेल विकास गर्ने योजना बनाएका छौं। यसले स्थानीय रोजगारी सिर्जना गर्ने र आर्थिक विकासमा ठुलो योगदान पुर्याउने अपेक्षा छ।
पालिका स्तरबाट पार्वतीकुण्डलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने योजनाबारे तपाईंको दृष्टिकोण के हो?”
पार्वतीकुण्ड केवल प्राकृतिक सुन्दरता मात्र नभई हाम्रो स्थानीय संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण स्थल हो। हाम्रो नगरपालिका इको-फ्रेन्डली पर्यटन पूर्वाधार विकास गर्ने, पहुँच सुधार गर्ने, र याक तथा चौंरी महोत्सव जस्ता सांस्कृतिक र साहसिक कार्यक्रमहरू आयोजना गरेर पर्यटकहरूलाई आकर्षित गर्ने योजना बनाएको छ। साथै, पार्वतीकुण्डको शुद्ध र प्राकृतिक अवस्था भविष्यका पुस्ताका लागि संरक्षण गर्न कडा वातावरणीय सुरक्षा उपायहरू सुनिश्चित गरिएको छ।
आगामी दिनमा के थप योजना छन्?
आगामी दिनमा कृषि–पर्यटन सहकार्य,हाइड्रो–पावर पर्यटन प्रोजेक्ट र स्थानीय उत्पादन ब्रान्डिङलाई प्रवद्र्धन गर्ने योजना छ। यसले आमाछोदिङमो गाउँपालिकालाई पर्यटक र निवेशकहरूको लागि आकर्षक गन्तव्य बनाउने छ। यस महोत्सवमा सहभागीताका लागि म सबैमा अनुरोध पनि गर्दछु ।


