
–दिलीप अधिकारी
मन्दिर धेरै भएर होला एकजना बिदेशी पर्यटक काठमाण्डौ म आएको बखत भनेका थिए रे– ’तिमीहरूको सहरमा त मानिस भन्दा देवता पो बढी रहेछन् ।’ हुन पनि नेपालका अन्य ठाउँमा भन्दा काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा मन्दिरहरू बढी नै छन् । तर यसलाई हामीले गौरव नै गर्नु पर्दछ । किनकि यो नै हाम्रो संस्कृति हो र परिचय हो ।
ठूला महल मानव निर्मित अन्य असङ्ख्य चमत्कारहरू हेरेर अघाएका विकसित मुलुकका पर्यटकहरू नेपाल घुम्न आउदा यहाँको आकर्षणको केन्द्रमा यहाँको प्राकृतिक सौन्दर्य र मठमन्दिर नै प्रमुख रूपमा रहेका हुन्छन । यसैले हामी पाटन भक्तपुर र बसन्तपुरतिर जाँदा पर्यटकहरूले कलात्मक रूपमा रहेका मन्दिर र मूर्तिलाई सुक्ष्म रूपमा नियालिरहेका हुन्छौ ।
यो नै हाम्रो संस्कृति र कलाकृतिको शान तथा मान हो । देशको राजधानी भएको कारण सम्पूर्ण सुबिधाहरू केन्द्रिकृत भएर नै होला, अवसरहरूको खोजीमा देशका बिभिन्न भागबाट काठमाडौँ आई बसोबास गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हुन त मुलुक अब संघियतामा गइसकेपछि यस्ता अवसरहरू अन्यत्र पनि उपलब्ध हुन गई राजधानीमा नै आउनुपर्ने बाध्यता हट्न सक्ने अडकलबाजी पनि छ, तर यसलाई ब्यवहारमा ल्याउन कति समस्या छ । आउने दिनले नै निर्धारण गर्ने छन्।
यसरी काठमाडौंमा बढ्दो जनसंख्याबीच यहाँका धान फल्ने खेतहरू अब कङ्क्रिटको शहरमा विकसित भैसकेका छन् । सार्वजनिक रूपमा रहेका मठ मन्दिरका क्षेत्र अतिक्रमणमा परेका छन् । कुनै खाली ठाउँमा मन्दिर बनाउने र त्यसलाई धार्मिक जमघटको थलो बनाउने प्रचलन पनि बढ्दो छ । यसले समाजमा सामाजिक एकता र भाइचाराको सम्बन्धलाई अझ दृढ र मजबुत बनाउन मदत नै पुगेको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वरमा रहेको दीपनगर क्षेत्रमा पनि स्थानीय बासिन्दा र नयाँ बासिन्दाको संयुक्त प्रयासमा निखिलेश्वर महादेव मन्दिरलाई ब्यवस्थित बनाउने कार्य २०६२ सालमा प्रारम्भ भएको हो ।
भगवान शिवलाई प्रमुख रूपमा शिव, शंकर, महेश्वर आदि अनेकौ नामले पुकार गरिन्छ । यस्तै यहाँ स्थापित मन्दिर ’निखिलेश्वर महादेव’ को नामले स्थापित छ । मन्दिर क्षेत्रको करिव १० आना जग्गामा प्रमुख आकर्षण महादेव मन्दिर भएता पनि यहाँ गणेश, दुर्गा, सरस्वती, भैरव, राधाकृष्ण, दक्षिणकाली, बंगलामुखी, हनुमान, निलबाराही, स्वस्थानी, सप्तऋषी, नाग, र बूढानिलकण्ठमा जस्तै बिष्णुको मूर्तिहरू समेत रहेका छन् ।
मन्दिर क्षेत्र भित्रको हालको जस्ता भएको अस्थायी संरचनालाई ३–४ तल्लाको पक्का भवन निर्माण गर्न सकेको खण्डमा सो भवनलाई प्रवचनकक्ष, योगाकक्ष, पुस्तकालय, क्लब, टोल सुधार समिति र मन्दिर समितिको अफिस सञ्चालन लगायत बिभिन्न कार्यहरू गर्न सकिने सोचकासाथ समिति क्रियाशील छ। यसमा स्थानीय टोलबासी, संघ–सस्था, ब्यवसायीहरू एवं श्रदालु भक्तजनहरूको आवश्यक सहयोग जुट्न सक्दा सो लक्ष्य पनि पूरा हुन जान्छ ।
यसरी समष्टिगत रूपमा हेर्दा काठमाडौं उपत्यका भित्रको बिभिन्न ठाउँमध्ये चक्रपथसँग जोडिएको सिन्धुली–बनेपा राजमार्गको प्रस्थान बिन्दु रहेको सुबिधा सम्पन्न यस कोटेश्वर क्षेत्रमा अवस्थित यो मन्दिर एउटा आर्कषणको केन्द्रमा रहेको छ । भगवान पशुपतिनाथकै समिपमा रहेर पनि नित्य रूपमा दर्शन गर्न जान नसकेपनि हामीले दैनिक भगवान निखिलेश्वरको दर्शन गर्न पाएका छौँ। दैनिक जीवनमा हाम्रा अप्ठ्याराहरू तनाव, बिध्नबाधाहरू समाधान हुने आत्म बिश्वासका साथ यो ठाउँ सबैको लागि आर्कषक स्थल बन्दै गएको छ ।
News from NAMI Weekly


