दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख २५ गते, शुक्रबार ४:५०

काठमाडौं । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता २०२६ झापमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको पाथिभरा कुलिनरी आर्ट कलेजमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्ने विश्वास व्यक्त गरे ।

उनले नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए । “विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्ताका शेफलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष अधिकारीले भने ।

कार्यक्रममा खुला पाककला प्रतियोगिता, विभिन्न खाद्य प्रतिस्पर्धा तथा खाद्य महोत्सव आयोजना गरिनेछ । ५० भन्दा बढी स्टल रहने महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफ निर्णायकका रूपमा सहभागी हुनेछन् । उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन र अनुभव आदानप्रदानको अवसर मिल्ने विश्वास आयोजकको छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले शेफहरू विश्वव्यापी जनशक्ति भएको उल्लेख गर्दै उनीहरूले स्थानीय तहसम्म सहकार्य र योगदान पुर्‍याउने बताए । “शेफहरू विश्वव्यापी जनशक्ति हुन् । उनीहरूले स्थानीय स्तरमा समेत सहकार्य गर्दै समाज र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्,” उनले भने । थपालियाले पाककलालाई राजधानीबाहिर विस्तार गर्नु साहसिक कदम भएको उल्लेख गर्दै थपे, “पाककलालाई राजधानी बाहिर लैजानु ठूलो हिम्मतको काम हो । यसले स्थानीय पर्यटन, उत्पादन र संस्कृतिलाई थप प्रवर्द्धन गर्नेछ,” उनले भने । उनले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न शेफहरूले साँचो सांस्कृतिक दूतको भूमिका निर्वाह गरिरहेको समेत बताए ।

नेपाल सेफ सोसाइटीका महासचिव गिरिराज भट्टका अनुसार, “यो प्रतियोगिता केवल खाना बनाउने प्रतिस्पर्धा मात्र नभई नेपाली संस्कृति, पर्यटन र अर्गानिक खाद्य परिकारलाई विश्व बजारसम्म चिनाउने अभियान पनि हो।”

कार्यक्रममा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिइनेछ। विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारहरूलाई एकै थलोमा प्रस्तुत गरिनेछ।

महासचिव भट्टले कोदो,फापर, सिस्नु लगायतका नेपाली रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणमार्फत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्ने जनाइएको छ । प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कारस्वरूप एक लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । आयोजकका अनुसार कार्यक्रमले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु