
–जीवन ढकाल, ताँजाकोट-०४, हुम्ला
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश हो। यहाँ मनाइने प्रत्येक चाडपर्वले कुनै न कुनै ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सन्देश बोकेको हुन्छ। यिनै मौलिक परम्परामध्ये कर्णाली क्षेत्र र सुदूरपश्चिमका केही भूभागमा मनाइने “भुवा पर्व” एक अत्यन्तै विशिष्ट, रहस्यमय तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। आधुनिकताको प्रभावका बीच पनि गाउँघरमा जीवित रहेको यो पर्वले समुदाय, संस्कार, सामूहिकता र जनविश्वासलाई आजसम्म जोगाइरहेको छ।
भुवा पर्वको उत्पत्ति कहिले र कहाँबाट भयो भन्ने विषयमा ठोस ऐतिहासिक प्रमाण पाइँदैन। तर स्थानीय जनविश्वासअनुसार हजारौँ वर्षअघि स्वर्गका “ओड” र धर्तीका “छोड” बाट यसको सुरुवात भएको अनुमान गरिन्छ। यो पर्व विशेषगरी नेपाली पात्रो अनुसार पुस महिनाको औँसीको रात मनाइन्छ। केही स्थानमा फरक समयमा पनि मनाउने चलन भए तापनि यसको मुख्य अवसर पुस औँसी नै मानिन्छ।
भुवा पर्वलाई रोग, भोक, दुःख, कष्ट, भूतप्रेत तथा शरीरको “लुतो” हटाउने पर्वका रूपमा लिइन्छ। विशेषगरी पुरुषहरूको पर्वका रूपमा परिचित यस उत्सवमा गाउँका बालकदेखि वृद्धसम्म सक्रिय सहभागिता रहने गर्दछ। औँसीको साँझ प्रत्येक घरमा पुरी, खीर तथा अन्य मिठा परिकार पकाइन्छ। परिवारसँग भोजन गरिसकेपछि गाउँका पुरुषहरू जंगलतर्फ “मुडा” अर्थात् काँचो दाउरा ल्याउन जान्छन्। त्यस रात विशेषगरी काँचो मुडा बाल्ने परम्परा रहेको छ।
भुवा मनाइने प्रत्येक गाउँमा परम्परादेखि नै एउटा निश्चित खेत, बारी वा चौर तोकिएको हुन्छ, जसलाई “भुवाखाडो” भनिन्छ। जंगलबाट ल्याइएका मुडाहरू त्यही स्थानमा जम्मा गरिन्छ। रात परेपछि गाउँका सबै पुरुष—बालक, युवा र वृद्ध—भुवाखाडोमा भेला हुन्छन्। त्यहाँ आगो बालिन्छ, झरोका राँका सल्काइन्छन् र आगोको वरिपरि गोलो घेरामा बसेर वा घुमेर देउडा, चाड्ची, हास्यव्यङ्ग्य तथा भुवाको इतिहास समेटिएका गीतहरू गाइन्छन्।
भुवाका गीतहरूमा यसको उत्पत्ति भएको मानिने स्थान, त्यसपछि फैलिएका गाउँहरू तथा ती ठाउँका मुख्य अन्नबाली र उत्पादनहरूको चर्चा गरिन्छ। गीत तथा संवादका क्रममा मनोरञ्जनका लागि लाजमर्दा र ठट्टायुक्त शब्दहरू पनि प्रयोग गरिन्छ। यही कारणले भुवाखाडो प्रायः गाउँभन्दा केही टाढा बनाइन्छ, ताकि पुरुषहरूले बोलेका शब्द महिलाहरूले नसुनून्। परम्पराअनुसार महिलाहरूलाई भुवाखाडोमा जान अनुमति हुँदैन। त्यस रात पुरुषहरूलाई स्वतन्त्र रूपमा बोल्ने, रमाइलो गर्ने र आपसी मजाक गर्ने छुट हुन्छ। काका–भतिजादेखि साथीभाइसम्मबीच हास्यव्यङ्ग्य चलिरहन्छ र सम्पूर्ण रात रमाइलोमै बित्ने गर्दछ।
मध्यराततिर झरोका राँका सल्काएर ठूलो स्वरले कराउँदै गाउँभरि डुल्ने चलन छ। यसलाई “गाउँ चाहाडो लगाउने” भनिन्छ। जनविश्वासअनुसार यसरी गाउँ डुल्दा रोग, भोक, दुःख, कष्ट तथा भूतप्रेत गाउँबाट भाग्ने विश्वास गरिन्छ। गाउँ परिक्रमा गरिसकेपछि बाँकी रहेका राँकाहरू पुनः भुवाखाडोको आगोमा फालिन्छन् र फेरि भुवा खेल सुरु हुन्छ।
रातभर उत्सव मनाइसकेपछि बिहान मिर्मिरे उज्यालोमा सबैले झराका राँका बालेर गाउँभन्दा टाढा परम्परादेखि तोकिएको स्थानमा लगेर पूर्ण रूपमा निभाइन्छ। यस प्रक्रियालाई “राँका सेलाउने” भनिन्छ। यसको अर्थ गाउँको रोग, भोक, दुःख, कष्ट, नकारात्मक शक्ति तथा अशुभ तत्वहरू पनि राँकासँगै समाप्त भएको मानिन्छ।
भुवा पर्वसँग जोडिएको अर्को अत्यन्त रहस्यमय मान्यता पनि प्रचलित छ। यदि कुनै अर्को गाउँ—जहाँ भुवा मनाइँदैन—का व्यक्तिले भुवाखाडोबाट बलिरहेको आगो चोरी गरेर आफ्नो गाउँसम्म पुर्याउन सफल भयो भने “भुवा चोरी भएको” मानिन्छ। यस्तो भएमा अर्को वर्षदेखि आगो चोरी भएको गाउँमा भुवा नमनाइने र आगो लगेको गाउँमा भुवा सुरु हुने विश्वास छ। यही कारणले बेलुका आगो बालिएको समयदेखि बिहान राँका सेलाउने बेलासम्म गाउँलेहरूले रातभर भुवाको सुरक्षा गर्ने गर्दछन्।
राँका सेलाएर फर्किएपछि सबैजना घरमा गई नुहाउने, शरीर सफा गर्ने र परिवारसँग पुनः मिठा परिकार खाने चलन छ। यदि त्यस दिन ननुहाए “लुतो लाग्छ” भन्ने जनविश्वास रहेको छ। रातभर जाग्राम बसेकाले दिनभर आराम गर्ने, सुत्ने, शरीरमा तेल लगाउने र मालिस गर्ने परम्परा पनि रहेको छ।
भुवा पर्व केवल मनोरञ्जन वा परम्परा मात्र होइन, यो कर्णाली र सुदूरपश्चिमको मौलिक पहिचान, सामूहिक एकता, सांस्कृतिक चेतना र जनविश्वासको जीवित प्रतीक हो। आधुनिकताको प्रभावसँगै यस्ता मौलिक संस्कृतिहरू हराउँदै जाने खतरा बढिरहेका बेला भुवा पर्वको संरक्षण, प्रचारप्रसार र पुस्तान्तरण आजको आवश्यकता बनेको छ। राष्ट्रिय स्तरमा यस्ता सांस्कृतिक सम्पदाको पहिचान र सम्मान हुन सके नेपालका लोपोन्मुख मौलिक परम्पराहरू भविष्यका पुस्तासम्म सुरक्षित रहन सक्नेछन्।


