
काठमाडौँ । नेपाली बालसंगीत क्षेत्रमा नयाँ सन्देशमूलक गीत “ज्ञानी ज्ञानी” सार्वजनिक गरिएको छ । बालबालिकामा असल संस्कार, सकारात्मक सोच र अनुशासनको भावना विकास गराउने उद्देश्यले तयार पारिएको यस गीतले मनोरञ्जनसँगै शिक्षामूलक सन्देश पनि बोकेको छ।
आजका बालबालिका नै भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरूलाई सही मार्गदर्शन दिन कला र संगीत प्रभावकारी माध्यम बन्न सक्ने विश्वासका साथ गीत निर्माण गरिएको निर्माण टिमले जनाएको छ। सार्वजनिक भएसँगै गीतले अभिभावक, शिक्षक तथा संगीतप्रेमीहरूको ध्यान आकर्षित गरिरहेको छ।
गीतमा बाल गायिका कृतिमा पाण्डेको मधुर स्वर रहेको छ । सानै उमेरमा उनले प्रस्तुत गरेको गायनले गीतलाई अझ आकर्षक र जीवन्त बनाएको छ। बालमन सुहाउँदो सरल तथा सन्देशमूलक शब्द गीतकार ङावा फिन्जु पाख्रिनले सिर्जना गरेका हुन् भने संगीतकार रामचन्द्र रिमालले कर्णप्रिय संगीत संयोजन गरेका छन्।
गीतका शब्दहरू बालबालिकाले सहज रूपमा बुझ्न, सम्झिन र व्यवहारमा उतार्न सक्ने खालका छन्। यसमा अध्ययनप्रतिको रुचि, मान्यजनप्रतिको सम्मान, अनुशासन र सकारात्मक व्यवहारजस्ता विषयलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।
संगीतकार रामचन्द्र रिमालका अनुसार अहिलेको डिजिटल युगमा बालबालिकाले विदेशी तथा उमेरअनुसार उपयुक्त नभएका सामग्री धेरै हेरिरहेका बेला नेपाली भाषा, संस्कृति र नैतिक शिक्षासँग जोडिएका यस्ता गीत आवश्यक छन्। उनका अनुसार बालगीतले मनोरञ्जन मात्र नभई बालबालिकालाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
निर्माण पक्षले “ज्ञानी ज्ञानी”लाई केवल एउटा गीत नभई बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पुर्याउने सानो अभियानका रूपमा लिएको जनाएको छ। संगीतमार्फत सिकाइने कुराहरू बालबालिकाले छिटो ग्रहण गर्ने भएकाले यो गीत विद्यालय, घर तथा विभिन्न बाल कार्यक्रमहरूमा समेत उपयोगी बन्ने विश्वास गरिएको छ।


