
काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लबले समान २–२ स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् को कभर्डहलमा आइतबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आर्मीले वर्चस्व जमाउँदा महिलातर्फ एपीएफले उत्कृष्ट खेल प्रदर्शन गरेको हो ।
पुरुष खुला तौल समूहमा आर्मीका अमित महर्जन स्वर्ण पदक जित्न सफल भए भने ५५ केजीमुनि तौल समूहमा आर्मीकै भुपेन्द्रबहादुर ओली पहिलो स्थानमा रहे । त्यसैगरी महिलातर्फ खुला तौल समूहमा एपीएफकी अनिशा तामाङले स्वर्ण जितिन् भने ५० केजीमुनि तौल समूहमा एपीएफकी रिना माझी विजेता बनिन् ।
प्रतियोगिताका विजेताहरूलाई राखेपका कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्द, राखेप सदस्य जगतसिंह धामीलगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए । प्रतियोगिताका चारै स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्य बहादुर बुढाथोकी ले प्रतियोगिताले नेपालमा फुल कन्ट्याक्ट कराते खेलको विकास र विस्तारमा नयाँ ऊर्जा थपेको बताए । उनले भने, “नेपालमा पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको फुल कन्ट्याक्ट कराते प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर दिएको छ ।

यस प्रतियोगिताले भविष्यमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।
अध्यक्ष बुढाथोकीले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिए ।

दुईदिने प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका गरी १ सय २५ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताले नेपाली कराते खेल क्षेत्रमा नयाँ उत्साह थप्नुका साथै फुल कन्ट्याक्ट करातेको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।


