
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। यहाँका विभिन्न समुदायले आफ्ना मौलिक संस्कार, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै आजसम्म जीवित राखेका छन्। यिनै मौलिक सांस्कृतिक सम्पदामध्ये कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका ब्राह्मण र ठकुरी समुदायमा मनाइने आउँदो तागा र जाँदो तागा पर्व विशेष महत्वका साथ मनाइने परम्परागत सांस्कृतिक पर्व हुन्।
हरेक वर्ष वैशाख १ गते मनाइने पर्वलाई आउँदो तागा र कार्तिक ६ गते मनाइने पर्वलाई जाँदो तागा भनिन्छ। वैशाख १ गते नयाँ तागा अर्थात् पवित्र डोरी धारण गरिन्छ भने कार्तिक ६ गते पुरानो तागा विसर्जन गरिन्छ। यही परम्पराका कारण यी पर्वहरू क्रमशः “आउँदो तागा” र “जाँदो तागा” का नामले परिचित भएका हुन्।
यो पर्व मुख्यतः पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ, विश्वासिलो र सुदृढ बनाउने उद्देश्यले मनाइन्छ। यसको पूजा–विधि र सांस्कृतिक अभ्यास हेर्दा हिन्दू समाजमा मनाइने तीज पर्वसँग धेरै समानता पाइन्छ। पहाडी तथा हिमाली क्षेत्रमा तीज पर्वको प्रभाव पछिल्ला दशकहरूमा बढ्दै गएको भए पनि तागा पर्व भने यस क्षेत्रको मौलिक सांस्कृतिक पहिचानका रूपमा धेरै अघिदेखि प्रचलित रहँदै आएको छ।
पर्वका अवसरमा विवाहित महिलाहरू दिनभर व्रत बस्छन्। साँझपख स्नान गरी घरमा दियो बाल्ने, भगवानलाई प्रसाद चढाउने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा–आराधना गर्ने चलन छ। यस पर्वको विशेष पक्ष भनेको श्रीमान्ले आफ्नै हातले तागा बाट्ने वा बुन्ने परम्परा हो। धागोबाट बनाइने उक्त तागा केवल धार्मिक सामग्री मात्र नभई पतिपत्नीबीचको प्रेम, विश्वास, जिम्मेवारी र समर्पणको प्रतीक मानिन्छ।
पूजाका क्रममा तागा, पाती, दुबो, दूध र गाईको गहुँतलाई पवित्र सामग्रीका रूपमा प्रयोग गरिन्छ। महिलाहरूले दुबो र पातीको प्रयोग गर्दै दूध र गाईको गहुँतले स्नान गर्ने परम्परा निर्वाह गर्छन्। स्नानका क्रममा उनीहरू “दूधकुण्ड नुहाएँ, पानीकुण्ड नुहाएँ” भन्ने धार्मिक वाक्य उच्चारण गर्छन्। त्यसपछि पाती खुट्टामा च्याप्ने र दुबो कानमा राख्ने प्रचलन रहेको छ। यी सामग्रीहरूलाई पवित्रता, शुभता, दीर्घायु र समृद्धिको प्रतीकका रूपमा लिइन्छ।
पूजा सम्पन्न भएपछि महिलाहरूले श्रीमान्को हातबाट टीका तथा तागा ग्रहण गरी आफ्नो व्रत समापन गर्छन्। यस क्रममा श्रीमान्को सुस्वास्थ्य, दीर्घायु, सुखसमृद्धि तथा दाम्पत्य जीवनको निरन्तरताको कामना गरिन्छ। साथै पति–पत्नीबीच प्रेम, सद्भाव, विश्वास र समझदारी अझ सुदृढ होस् भन्ने प्रार्थना गरिन्छ।
आधुनिकता, बसाइँसराइ र विश्वव्यापी सांस्कृतिक प्रभावका कारण धेरै स्थानीय परम्परा र संस्कृतिहरू ओझेलमा पर्दै गएका छन्। यस्ता अवस्थामा आउँदो तागा र जाँदो तागाजस्ता मौलिक पर्वहरूको संरक्षण, प्रवर्द्धन र दस्तावेजीकरण अपरिहार्य देखिन्छ। यी पर्व केवल धार्मिक अनुष्ठान मात्र होइनन्; यिनले परिवार, समाज र संस्कृतिबीचको सम्बन्धलाई जीवन्त राख्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
कर्णाली र सुदूरपश्चिमका यस्ता सांस्कृतिक सम्पदाहरू राष्ट्रिय पहिचानका अमूल्य धरोहर हुन्। तसर्थ, आउँदो तागा र जाँदो तागा पर्वलाई नयाँ पुस्तामाझ परिचित गराउँदै यसको मौलिकता जोगाउनु आजको आवश्यकता हो। संस्कृति संरक्षण भनेको केवल विगतका परम्पराको संरक्षण मात्र होइन, भावी पुस्तालाई आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्नु पनि हो। आउँदो तागा र जाँदो तागा पर्वले यही सन्देश बोकेको छ, माया, विश्वास, समर्पण र सांस्कृतिक निरन्तरताको सन्देश।
लेखक ढकाल श्री मदनादेव माध्यमिक विद्यालय हुम्लाका शिक्षक तथा ‘Song Based Grammar Teaching Approach (SBGTA)’ विषयमा अनुसन्धानरत अनुसन्धानकर्ता हुन्।


