
पत्रकारिताको यात्रामा निस्कँदा काठमाडौँका सडकहरूले मनमा अनेकौं प्रश्नहरू जन्माइदिए। सुन्धारा , नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो हुँदै गुडिरहेका सार्वजनिक यातायातका साधनहरूमा महिला सहचालकहरूको बाक्लो उपस्थिति देखेँ। समय बदलिएको छ, महिलाहरू घरको चौघेराबाट बाहिर निस्केका छन्, आर्थिक रूपमा आत्मनिर्भर बन्न संघर्ष गरिरहेका छन्। यो परिवर्तन आफैँमा सकारात्मक संकेत हो। तर ती दृश्यहरू नियालिरहँदा मन गर्वले भन्दा बढी चिन्ताले भरियो।
बसको ढोकामा एक हातले फलामको डन्डी समातेर, अर्को हातले यात्रु बोलाउँदै, धुलो, धुवाँ, घाम र वर्षासँग जुध्दै गुडिरहेका ती महिलाहरूलाई हेर्दा मनले बारम्बार एउटै प्रश्न गरिरह्यो—के यो महिला सशक्तीकरणको तस्वीर हो, कि गरिबी, बाध्यता र राज्यको बेवास्ताको अर्को अनुहार?
संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको छ। श्रम ऐनले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गरेको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्डहरूले श्रमिकको सुरक्षा र मर्यादालाई पहिलो प्राथमिकता दिएका छन्। तर तीव्र गतिमा गुडिरहेको बसको ढोकामा ज्यानलाई दाउमा राखेर काम गरिरहेकी महिलालाई देख्दा लाग्छ—कागजमा लेखिएका अधिकार र सडकमा बाँचिएका यथार्थबीच अझै ठूलो दूरी बाँकी छ।
एक महिलाको शरीर केवल श्रम गर्ने साधन होइन, त्यो प्रकृतिले दिएको संवेदनशील संरचना पनि हो। महिनावारीका पीडा, मातृत्वका जिम्मेवारी, स्वास्थ्यका जटिलता र शारीरिक अवस्थासँग संघर्ष गरिरहेकी महिलाले दिनभरि सडकमा जोखिम मोलेर काम गर्नुपर्ने अवस्था आफैँमा गम्भीर सामाजिक प्रश्न हो। समानताको अर्थ महिलालाई जोखिममा धकेल्नु होइन, समानताको अर्थ महिलालाई सुरक्षित र सम्मानित अवसर उपलब्ध गराउनु हो।
अझ दुःखद कुरा, सार्वजनिक यातायातका साधनहरू महिलामाथि हुने दुर्व्यवहार, अश्लील टिप्पणी, यौनजन्य हिंसा र मानसिक उत्पीडनका घटनाबाट पूर्ण रूपमा मुक्त छैनन्। दैनिक सयौँ अपरिचित मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने ती महिला सहचालकहरू कति पटक अपमानका शब्दहरू सहिरहेका होलान्? कति पटक मौन भएर आँसु निलिरहेका होलान्? कति पटक आफ्नो आत्मसम्मानलाई दबाएर जीविकोपार्जन गरिरहेका होलान्? यी प्रश्नहरूको उत्तर तथ्यांकमा नभेटिए पनि उनीहरूको अनुहारमा कुँदिएका संघर्षका रेखाहरूले धेरै कुरा बोलिरहेका हुन्छन्।
समाजले महिला श्रमको सम्मान गर्न सिक्नुपर्छ। तर सम्मानको अर्थ केवल ताली बजाउनु होइन। सम्मानको अर्थ उनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु हो। सम्मानको अर्थ उनीहरूलाई यस्तो रोजगारी उपलब्ध गराउनु हो जहाँ हरेक साँझ घर फर्कँदा परिवारले उनीहरूको सकुशल उपस्थितिमा ढुक्क सास फेर्न सकोस्।
आज आवश्यकता महिला सहचालकहरूलाई दोष दिने होइन, उनीहरूलाई त्यो अवस्थामा पुर्याउने संरचनागत कारणहरू खोज्ने हो। आवश्यकता उनीहरूको संघर्षलाई रोमान्टिक बनाउने होइन, उनीहरूको सुरक्षालाई सुनिश्चित गर्ने हो। आवश्यकता महिलालाई “सबै गर्न सक्छन्” भनेर जोखिमको भारी बोकाउने होइन, उनीहरूलाई “सम्मानपूर्वक र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण” निर्माण गर्ने हो।
राज्यसँग आज प्रश्न छ—सडकमा ज्यान जोखिममा राखेर काम गरिरहेकी महिलाको सुरक्षा कसले सुनिश्चित गर्ने? श्रम ऐनको कार्यान्वयन कसले गर्ने? कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारको अनुगमन कसले गर्ने? र महिला अधिकारको पक्षमा चर्का भाषण गर्नेहरू ती बसका ढोकामा झुन्डिएका महिलाहरूको पीडासँग कहिले साक्षात्कार गर्ने?
सडकमा गुडिरहेको त्यो बससँगै केवल एउटा महिला होइन, एउटा परिवारको सपना, एउटा आमाको जिम्मेवारी, एउटा छोरीको भविष्य र एउटा नागरिकको आत्मसम्मान पनि झुन्डिरहेको हुन्छ। त्यसैले अब समय आएको छ—महिलालाई केवल रोजगारी होइन, सुरक्षित रोजगारी; केवल काम होइन, सम्मानित काम; केवल समानता होइन, मर्यादित र अधिकारयुक्त समानता प्रदान गर्ने।
किनकि कुनै पनि सभ्य समाजको वास्तविक उन्नति त्यतिबेला मापन हुन्छ, जब त्यहाँका महिलाहरू आफ्नो अधिकारका लागि जोखिम उठाउन बाध्य हुँदैनन्, बरु अधिकार र सम्मानसहित सुरक्षित रूपमा बाँच्न पाउँछन्। यही नै साँचो महिला सशक्तीकरण हो, यही नै सामाजिक न्याय हो, र यही नै सभ्य राज्यको पहिचान हो।
(लेखिका ढकाल न्यूज लाईन्स् नेपाल डटकमको सम्पादक हुनुहुन्छ )


