
काठमाडौं । श्री माता पाथीभरा डेरी उद्योग प्रालिका प्रबन्ध निर्देशक तथा नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्का प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ।
कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हरि ढकालले खड्कालाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।
व्यावसायिक निष्ठा, उत्कृष्ट सेवाभाव, प्रभावकारी नेतृत्व क्षमता तथा संस्थागत सहकार्यमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिनुभयो।
दुग्ध क्षेत्रको विकास, किसानको हकहित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा सक्रिय खड्काले नेपाली दुग्धजन्य उत्पादन, विशेषगरी छुर्पी लगायतका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
उहाँको नेतृत्वमा स्वदेशी उत्पादनको निर्यात प्रवर्द्धन हुनुका साथै रोजगारी सिर्जनामा समेत उल्लेखनीय योगदान पुगेको छ।
सामाजिक कार्यमा समेत सक्रिय खड्का विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा आबद्ध रहँदै आएका छन्। ऊर्जाशील, दक्ष र उदाहरणीय युवा उद्यमीका रूपमा परिचित उहाँ दुग्धजन्य उद्योगसँगै अन्य व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ। प्रखर वक्ताका रूपमा परिचित खड्काले उद्यमशीलता, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ।
यस सम्मानले नेपाली दुग्ध उद्योग, किसान समुदाय तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा खड्काले पुर्याएको योगदानलाई राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।


