
काठमाडौं, असार १४ — लायन्स क्लब अफ काठमाडौं शुभताराको सन् २०२६–२०२७ कार्यकालका लागि लायन सुशीला श्रेष्ठ (MJF) अध्यक्षमा मनोनित भएकी छन्।
सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी श्रेष्ठ क्लबको नेतृत्वमा चयन भएपछि लायन्सकर्मी तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानवीय सेवा तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र जनमुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अध्यक्ष श्रेष्ठले भनिन्, “लायन्सको मूल भावना ‘We Serve (हामी सेवा गर्छौं)’ लाई आत्मसात् गर्दै समाजका आवश्यकतामा आधारित सेवा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइनेछ। शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा विशेष ध्यान दिँदै समुदायसँग प्रत्यक्ष जोडिने अभियान सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ।”
उनले क्लबका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालासँग सहकार्य र सहभागितामार्फत सामाजिक सेवाका कार्यलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरिन्।
यस अवसरमा विभिन्न व्यक्तित्वहरूले श्रेष्ठको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं शुभताराले सामाजिक सेवाका क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
पत्रकार श्याम स्मृतले पनि अध्यक्षमा मनोनित श्रेष्ठलाई बधाई दिँदै उनको सफल नेतृत्वमा क्लबले मानव सेवाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने शुभकामना व्यक्त गरेका छन्।
लायन्स क्लब अन्तर्राष्ट्रिय संस्थाको मूल भावना “We Serve (हामी सेवा गर्छौं)” लाई आत्मसात् गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएको संस्था हो। नवनियुक्त अध्यक्ष श्रेष्ठको नेतृत्वमा क्लबले आगामी कार्यकालमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।


