
काठमाडौं, असार १५ । नेपाली सेनामा १८ वर्षसम्म समर्पित भएर राष्ट्रसेवा गरेका कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोट निवासी ६७ वर्षीय टेक्निसियन बीरलाल श्रेष्ठ आफ्नो अनुशासित सेवा, इमान्दारिता र उत्कृष्ट कार्यसम्पादनका कारण आज पनि प्रेरणाका पात्र बनेका छन्।
सेनामा रहँदा प्राविधिक (टेक्निसियन) का रूपमा जिम्मेवारी निर्वाह गरेका श्रेष्ठले स्वदेशमा मात्र होइन, विदेशमा समेत नेपाली सेनाको प्रतिष्ठा उच्च राख्ने अवसर पाएका थिए। लेबनानमा नेपाली सेनाको प्रतिनिधित्व गर्दै कार्यसम्पादनका क्रममा देखाएको दक्षता, लगनशीलता र उत्कृष्ट सेवाको कदरस्वरूप उनी तक्माबाट विभूषित भएका थिए।
राष्ट्रप्रतिको समर्पण, कर्तव्यनिष्ठा र अनुकरणीय सेवाका लागि नेपाली सेनाले पनि उनलाई विभिन्न मानपदवी तथा तक्मा प्रदान गरी सम्मान गरेको छ। उनको छातीमा सजिएका ती तक्माहरू केवल धातुका चिन्ह होइनन्, राष्ट्रप्रतिको निष्ठा, त्याग र समर्पणका अमिट प्रतीक हुन्।
सेनाबाट अवकाश प्राप्त गरेपछि पनि श्रेष्ठ सरल, अनुशासित र सामाजिक जीवन बिताइरहेका छन्। युवापुस्तालाई राष्ट्रप्रेम, इमान्दारिता, अनुशासन र कर्तव्यप्रति समर्पित हुन प्रेरित गर्ने व्यक्तित्वका रूपमा उनी आफ्नो समुदायमा सम्मानित छन्।
राष्ट्रका लागि मौन रूपमा पसिना बगाउने यस्ता पूर्वसैनिकहरूको योगदान सदैव स्मरणीय रहने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। बीरलाल श्रेष्ठजस्ता राष्ट्रसेवकहरू नेपाली समाजका लागि प्रेरणाका स्रोत हुन्।


