दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दक्षिणकाली अब बहुआयामिक पर्यटन गन्तव्य बन्दै, गुरुयोजना अन्तिम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १८ गते, बिहीबार १९:३७

काठमाडौँ । राजधानीसँग जोडिएको दक्षिणकाली नगरपालिकाले आफ्नो पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याउने तयारी थालेको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित दक्षिणकालीलाई अब संस्कृति, प्रकृति, कृषि, ग्रामीण जीवनशैली तथा साहसिक गतिविधिसँग जोडिएको बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन गुरुयोजना तर्जुमाको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा दक्षिणकाली नगरपालिकाको समन्वयमा तयार भइरहेको योजनाको दोस्रो चरणको प्रस्तुतीकरण सम्पन्न भएसँगै दक्षिणकालीको पर्यटन विकासको दीर्घकालीन खाका स्पष्ट बन्दै गएको छ।

पर्यटन विज्ञ आलोक प्रसाईँ नेतृत्वको प्राविधिक टोलीले करिब दुई महिनासम्म धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको अध्ययन गरी पर्यटन विकासका नयाँ सम्भावनाहरू पहिचान गरेको थियो। स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा सरोकारवालासँगको सहकार्य र अन्तरक्रियामार्फत दक्षिणकालीको मौलिक पर्यटन पहिचान निर्धारण गर्ने प्रयास गरिएको थियो।

अध्ययनले दक्षिणकालीलाई केवल मन्दिर दर्शनको गन्तव्यका रूपमा नभई “पर्यटनको जीवन्त सङ्ग्रहालय” का रूपमा स्थापित गर्न सकिने निष्कर्ष निकालेको छ। दक्षिणकाली मन्दिर, शेषनारायण, फर्पिङ क्षेत्रका ऐतिहासिक सम्पदा, गुरु पद्मसम्भवसँग सम्बन्धित बौद्ध स्थल, चम्पादेवी तथा अन्य धार्मिक–प्राकृतिक आकर्षणहरूले यस क्षेत्रलाई विविध पर्यटन अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा विकास गर्ने सम्भावना देखिएको छ।

गुरुयोजनाले धार्मिक पर्यटनसँगै कृषि पर्यटन, ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन, पदयात्रा पर्यटन तथा पर्यापर्यटनलाई एकीकृत रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गरेको छ। यसबाट पर्यटकको बसाइ अवधि बढ्ने, स्थानीय उत्पादनको बजार विस्तार हुने र समुदायमा प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार यो गुरुयोजना पर्यटन क्षेत्रको दस्तावेज मात्र नभई दक्षिणकालीको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण मार्गचित्र हुनेछ। योजना कार्यान्वयनसँगै लगानी आकर्षण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय आय वृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ।

राजधानीको नजिकै भएर पनि अपेक्षित पर्यटन लाभ लिन नसकेको दक्षिणकाली अब योजनाबद्ध विकासमार्फत नेपालको प्रमुख धार्मिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटन गन्तव्यका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु