
भक्तपुर, असार ३२ — बालबालिकामा सानैदेखि साइकल चलाउने संस्कृतिको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘किड्स कोरा–२०२६’ सम्पन्न भएको छ।
साइकल कनेक्ट भक्तपुरको आयोजनामा भएको कार्यक्रममा करिब ५०० बालबालिकाले साइकल यात्रामा सहभागिता जनाएका थिए। ३ देखि १८ वर्ष उमेर समूहका बाल साइकल यात्रीहरू स्वस्थ, सुरक्षित र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्ने अभियानमा उत्साहपूर्वक सहभागी बने।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख तथा वास्तुविद् रजनी जोशीले बालबालिकालाई सानै उमेरदेखि साइकल चलाउने बानी बसाल्ने यस्ता अभियानले स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा दिगो यातायात प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। उनले यस्ता सिर्जनात्मक कार्यक्रमले आगामी पुस्तालाई जिम्मेवार नागरिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमअन्तर्गत सहभागी बालबालिकाले भक्तपुरको ऐतिहासिक गाईजात्रा मार्ग हुँदै करिब ५ किलोमिटर साइकल यात्रा गरेका थिए। आयोजकका अनुसार साइकल यात्रामार्फत सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि, शारीरिक तन्दुरुस्ती, वातावरण संरक्षण तथा भक्तपुरको समृद्ध सांस्कृतिक सम्पदाप्रति बालबालिकालाई परिचित गराउने उद्देश्य राखिएको थियो।
आयोजकले किड्स कोराको मुख्य उद्देश्य बालबालिकामा आधारभूत तहदेखि नै साइकल चलाउने बानीको विकास गर्नु, भविष्यमा मोटरचालित सवारीसाधनमा निर्भरता घटाउनु तथा स्वस्थ र स्वच्छ समाज निर्माणमा योगदान पुर्याउनु रहेको जनाएको छ।
कार्यक्रममा नेपाल इको प्यानल प्रालिले ‘सस्टेनेबिलिटी पार्टनर’का रूपमा सहकार्य गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा साइकल कनेक्ट भक्तपुरका सल्लाहकार इन्जिनियर कृष्णभक्त दुवालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमलाई सहयोग गरिएको जानकारी दिए। उनले बालबालिकामा दिगो जीवनशैलीको अभ्यास गराउनु स्वच्छ वातावरण, स्वस्थ समाज र हरित भविष्य निर्माणतर्फको महत्वपूर्ण लगानी भएको उल्लेख गरे।
यस वर्षको किड्स कोरा–२०२६ मा भक्तपुरसँगै काठमाडौं र ललितपुरबाट पनि उल्लेख्य संख्यामा बाल साइकल यात्री सहभागी भएका थिए। यसले काठमाडौं उपत्यकामा बालबालिकामाझ साइकलप्रतिको आकर्षण बढ्दै गएको तथा दिगो यातायातप्रतिको जनचेतना विस्तार भइरहेको संकेत गरेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार बालबालिका, अभिभावक, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको उत्साहजनक सहभागितासहित सम्पन्न किड्स कोरा–२०२६ ले साइकल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, वातावरण संरक्षण र दिगो भविष्य निर्माणको प्रभावकारी साधन भएको सन्देश प्रवाह गरेको छ।


