तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ गते काठमाडौंमा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ३२ गते, बिहीबार ६:२३

काठमाडौं। नेपालका मातृभाषामा सञ्चालित सञ्चारमाध्यमको प्रवर्द्धन, भाषा–संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आगामी २०८३ साल साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरिने भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबू को संयोजनमा सम्मेलन सम्पन्न गर्ने तयारीस्वरूप काठमाडौंको नयाँबजारमा तयारी बैठक सम्पन्न भएको हो। बैठकमा सम्मेलनको प्रारम्भिक कार्ययोजना, सहभागी व्यवस्थापन तथा कार्यक्रमको रूपरेखाबारे विस्तृत छलफल गरिएको थियो।

फोनिजका महासचिव समीर बलामी ले सम्मेलनको प्रारम्भिक कार्ययोजना प्रस्तुत गर्दै विश्वका करिब ४० देशमा मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई सम्मेलनमा सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार सम्मेलनले नेपाललाई मातृभाषा पत्रकारिताको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

चारदिने सम्मेलनमा मातृभाषा पत्रकारितासम्बन्धी प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुति, अनुभव आदान–प्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा नेपालका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गराइने कार्यक्रम प्रस्ताव गरिएको छ। यसका साथै विदेशी सहभागीलाई नेपालका रैथाने परिकारको स्वाद चखाउँदै नेपाली मौलिक खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने विशेष योजना पनि समावेश गरिएको आयोजकले बताएका छन्।

आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य मातृभाषा पत्रकारितालाई व्यावसायिक, प्रभावकारी र दिगो बनाउनु, सरकारी नीतिमा यसको महत्त्व स्थापित गराउनु तथा सम्मेलनपछि नेपालको मातृभाषा पत्रकारिताको उपलब्धिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नु हो। साथै भाषा, लिपि, संस्कृति, संस्कार र सम्पदाको संरक्षण, अनुसन्धान तथा प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यसअघि नेवाः पत्रकार राष्ट्रिय दबू को आयोजनामा दुई पटक अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती सम्मेलनमा सार्क जर्नलिस्ट फोरम र फोनिज ले सहकार्य गरेका थिए।

तयारी बैठकमा नेवाः पत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, केके मानन्धर, राजु नापित, प्रजित शाक्य र तेज नारायण महर्जन तथा फोनिजका लक्की चौधरी, समीर बलामी, अर्जुनबहादुर तामाङ, प्रविण श्रेष्ठ, प्रदीप लेखी, अमिर लामा, राजु राजदेव, प्रविण किराँती लगायतको सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु