
काठमाडौं। झापा जिल्लामा जन्मिएका वरिष्ठ पाककला विज्ञ शेफ साई कुमार शर्मा अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक नेपालको गौरव बढाउन सफल भएका छन्। तीन दशकभन्दा बढी समयदेखि पाककला क्षेत्रमा निरन्तर सक्रिय रहेका शर्माले भारतको चेन्नईमा सम्पन्न विश्व कीर्तिमानी कार्यक्रममा सहभागिता जनाउँदै Certificate of World Record बाट सम्मानित भएका हुन्।
अन्तर्राष्ट्रिय पाककला संस्था International Nepalese Chefs Society (INCS) द्वारा आयोजित उक्त कार्यक्रममा विश्वभरका १०० व्यावसायिक शेफहरूले एउटै मञ्चमा दाल तथा गेडागुडीका १०० फरक–फरक परिकार तयार पार्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। उक्त ऐतिहासिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप शेफ शर्मालाई Certificate of World Record प्रदान गरिएको हो।
हाल International Nepalese Chefs Society (INCS) का उपाध्यक्षसमेत रहेका शेफ शर्माले करिब ३० वर्षदेखि पाककला क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्। नेपाल तथा भारतका विभिन्न सरकारी र निजी संस्थामार्फत पाककलाको विकास, प्रवर्द्धन तथा प्रशिक्षणमा पुर्याएको योगदानका लागि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मानबाट विभूषित भइसकेका छन्।
चेन्नईस्थित Ramada by Wyndham Chennai Egmore होटलमा सम्पन्न उक्त कार्यक्रम विश्व कीर्तिमानमा मात्र सीमित थिएन। सो अवसरमा International Culinary Alliance (ICA) को औपचारिक उद्घाटन, Hospitality Chefs Excellence Awards तथा विभिन्न अन्तर्राष्ट्रिय पाककला कार्यक्रमहरू पनि भव्य रूपमा सम्पन्न भएका थिए।
कार्यक्रममा MasterChef India का विजेता विक्रम गान्धे र अजिंक्य गान्धे लाई विशेष सम्मान गरिएको थियो। पाककलाप्रति उनीहरूको समर्पण र योगदानको सहभागी शेफहरूले उच्च प्रशंसा गरेका थिए।
विश्व कीर्तिमानी कार्यक्रममा नेपालबाट शेफ साई कुमार शर्मासहित शेफ अनिल कुँवर क्षेत्री, शेफ सुनिता लामा, शेफ विष्णु खत्री, शेफ लक्ष्मण गैरे, शेफ लक्ष्मण सोनी, शेफ युवराज पुन मगर, शेफ ज्ञानबहादुर राना, शेफ रमेश बासेल, शेफ ओम थापा, शेफ गणेश दास, शेफ देबालिना मुखर्जी तथा शेफ रमेश सिंहलगायत अन्तर्राष्ट्रिय बोर्ड सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै शेफ साई कुमार शर्माले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली पाककला समुदायको साझा गौरव भएको बताए। उनले भने, “यो सम्मान केवल मेरो होइन, सम्पूर्ण नेपाली शेफ समुदाय र नेपालको पहिचानको सम्मान हो। विश्वमञ्चमा नेपाली पाककलाको क्षमता र सम्भावनालाई स्थापित गर्ने दिशामा हामी अझ सशक्त रूपमा अघि बढ्नेछौँ।”
नेपालको पाककला व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन शेफ शर्माले लामो समयदेखि प्रशिक्षण, अनुसन्धान, नयाँ परिकारको विकास तथा युवा शेफहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। पाककला क्षेत्रका विज्ञहरूका अनुसार उनको नेतृत्व र योगदानले नेपाली शेफहरूलाई विश्वस्तरीय प्रतियोगिता तथा कार्यक्रमहरूमा सहभागी हुन थप प्रेरणा दिएको छ।
चेन्नईमा स्थापित नयाँ विश्व कीर्तिमानसँगै नेपाली शेफहरूको अन्तर्राष्ट्रिय उपस्थिति अझ सुदृढ बनेको छ। विशेषगरी शेफ साई कुमार शर्माले प्राप्त गरेको Certificate of World Record नेपाली पाककला क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपालको पाककला, स्थानीय स्वाद, परम्परागत परिकार तथा नेपाली शेफहरूको दक्षतालाई विश्वसामु थप प्रभावकारी रूपमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


