
काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने खेलाडी तथा प्रशिक्षकहरू सम्मानित भएका छन्। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु कराते क्लबको आयोजनामा सम्पन्न विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।
समारोहमा ११औँ राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा ऐतिहासिक सफलता हासिल गरी नेपालको शिर उच्च बनाउने पदक विजेता खेलाडी तथा टोली प्रशिक्षकलाई विशेष सम्मानपत्र प्रदान गरिएको थियो।
उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि एकमात्र स्वर्ण पदक जित्न सफल बालाजु कराते क्लबका होम गुरुङ लाई विशेष सम्मान गरिएको थियो। त्यस्तै, नेपाली टोलीका प्रशिक्षक (टिम कोच) कृष्णबहादुर विक लाई पनि सम्मानपत्र प्रदान गरी योगदानको उच्च मूल्यांकन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै काठमाडौं महानगरपालिका–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठ ले खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रिय गौरव अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। यस्ता सम्मान कार्यक्रमले खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्ने उल्लेख गर्दै स्थानीय तहबाट खेलकुद र खेलाडीको विकासका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
विशेष अतिथि जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज पौडेल ले विद्यालय तहदेखि नै खेलकुदको बलियो आधार निर्माण गर्न आवश्यक रहेको धारणा राख्दै यसका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा अन्य वक्ताहरूले नेपाली करातेको विकास र विस्तारका लागि यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनीहरूले खेलकुद क्षेत्रमा राज्य र निजी क्षेत्रको लगानी वृद्धि गर्नुपर्ने तथा खेलाडी पलायन रोक्न प्रोत्साहनमूलक नीति आवश्यक रहेकोमा जोड दिए।
यस अवसरमा युवा व्यवसायी अर्जुन गिरी, लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कराज पाण्डे, जापान गोजुरियो कराते संघका केन्द्रीय अध्यक्ष बिदुर कुँवर, टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष रामेश्वर रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव बल्लभ पन्त, श्रीकृष्ण डंगोल कराते संस्थाका अध्यक्ष, टोल सुधार समितिकी सदस्य कमला काफ्ले, सल्लाहकार राजन बोहोरा, कमल काफ्ले, कमला पौडेल, तेजबहादुर खनाल, समाजसेवी एवं व्यवसायी नील गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
समारोहमा वरिष्ठ कराते प्रशिक्षक, खेलाडी, अभिभावक, खेलप्रेमी, पत्रकार, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार तथा समाजसेवी सावित्री बस्नेत (सबु) ले गरेकी थिइन्।
कार्यक्रमको सभापतित्व बालाजु कराते क्लबका अध्यक्ष सुरेन्द्र प्रसाद घिमिरे ले गरेका थिए। समापन मन्तव्यमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउने खेलाडीहरूको सम्मान गर्न पाउनु क्लबका लागि गर्वको विषय भएको बताए। साथै, आगामी दिनमा कराते खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि यस्ता रचनात्मक र प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।


