
काठमाडौं। हाउसकिपिङ तथा केयर गिभरसम्बन्धी सीपमूलक तालिम प्रदान गर्दै आएको स्किल बेस्ट ट्रेनिङ सेन्टरले सफलतापूर्वक तालिम पूरा गरेका प्रशिक्षार्थीहरूको दीक्षान्त तथा स्वागत–विदाइ समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले सीपमूलक शिक्षाले रोजगारी सिर्जना, आत्मनिर्भरता र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै हाउसकिपिङ तथा केयर गिभर क्षेत्रको विश्वव्यापी मागलाई मध्यनजर गरी गुणस्तरीय तालिमको आवश्यकता औंल्याए।
कार्यक्रमलाई सम्बोधन गर्दै स्किल बेस्ट ट्रेनिङ सेन्टरकी प्रमुख सोफिया लामाले सीप नै आजको प्रतिस्पर्धी युगको सबैभन्दा ठूलो पूँजी भएको बताइन्। उनले प्रशिक्षार्थीहरूले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वदेश तथा विदेशमा उत्कृष्ट सेवा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरिन्। साथै, आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सीपमूलक तालिम सञ्चालन गर्दै दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा केन्द्र प्रतिबद्ध रहने बताइन्।

त्यसैगरी, होटल एसोसिएसनका कुलिनरी कन्सल्टेन्ट सेफ श्याम लामाले छोटो मन्तव्य राख्दै आतिथ्य तथा सेवा क्षेत्र निरन्तर विस्तार भइरहेको उल्लेख गरे। उनले सफल हुनका लागि सीप, अनुशासन र सकारात्मक सोच अपरिहार्य रहेको बताउँदै प्रशिक्षार्थीहरूलाई आफूले सिकेको सीपलाई व्यावसायिक जीवनमा इमान्दारीपूर्वक प्रयोग गर्न आग्रह गरे। उनले दीक्षित सबै प्रशिक्षार्थीहरूको सफल भविष्यको शुभकामना पनि व्यक्त गरे।
समारोहमा नृत्य तथा सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक, उल्लासमय र स्मरणीय बनाएको थियो भने उपस्थित अतिथि, अभिभावक तथा प्रशिक्षार्थीहरूले प्रस्तुति उत्साहपूर्वक अवलोकन गरेका थिए।
प्रशिक्षण केन्द्रले व्यावहारिक तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको जनाएको छ। तालिम प्राप्त प्रशिक्षार्थीहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक, अभिभावक, अतिथिहरू तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस अवसरमा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई विशेष सम्मानसमेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा होटल तथा आतिथ्य क्षेत्रका वरिष्ठ सेफहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
स्किल बेस्ट ट्रेनिङ सेन्टरले आगामी दिनमा पनि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै दक्ष, व्यावसायिक र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


