
काठमाडौं — नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेश कमिटीको बैठक आइतबार काठमाडौंको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
कमिटीका अध्यक्ष सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेकपा एमाले राजधानी प्रदेश कमिटी जनसंगठन समन्वय संयन्त्रका संयोजक मणिराम फुयाल, महासंघका केन्द्रीय उपाध्यक्ष धर्मकुमार श्रेष्ठ, महासचिव धरम लामा लगायत प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा महासंघको संगठन विस्तार, खेलकुद क्षेत्रको विकास तथा आगामी कार्यक्रमहरू सम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गर्दै आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
बैठकले उपत्यका विशेष प्रदेश कमिटीलाई थप सशक्त, व्यवस्थित र गतिशील बनाउँदै खेलकुद क्षेत्रको विकास र विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


