
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा पर्बत समाज यूएईले आगामी ३० अगस्ट २०२६ (आइतबार) बरदुबईस्थित याक एण्ड यति क्लब एभरेष्टमा भव्य सांगीतिक तथा सांस्कृतिक कार्यक्रम ‘तिज धमाका २०२६’ आयोजना गर्ने भएको छ।
नेपाली कला, संस्कृति तथा मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित लोकगायक श्याम राना, चर्चित लोकगायिका सुष्मिता क्षेत्री लगायत यूएईमा रहेका स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
साथै, कार्यक्रममा सहभागीहरूका लागि परम्परागत तिजको दर तथा विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको विशेष व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।
प्रवासी नेपाली समुदायबीच आपसी एकता, सद्भाव तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा यूएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन पर्बत समाज यूएईले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रममा सहभागी हुने दर्शकमध्ये एक जना भाग्यशालीलाई सुनको तिलहरी विशेष उपहारका रूपमा प्रदान गरिने आयोजकले जानकारी दिएको छ।


