
काठमाडौं । जुझारु निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको किशाेर कुमार शाही र देवकुमारी खड्गीकाे गायन रहेकाे रोमाञ्चक म्युजिक भिडियो ‘कति बस्छौं माइतीघर’ तथा सर्ट फिल्म ‘आश्रम’ विशेष समारोहबीच काठमाडौंस्थित जय नेपाल हलमा शनिबार भव्य सार्वजनिक गरिएको छ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठ, युगीन कलाकार तथा निर्देशक पवन जोशी, विशिष्ट अभिनेत्री शर्मिला मल्ल, नायक धीरेन शाक्य, विशिष्ट चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, विशिष्ट अभिनेत्री लक्ष्मी गिरी, विशिष्ट अभिनेत्री पल्पसा डंगोल, जयनेपाल हलका संचालक गाेपालकाजी कायस्थ लगायतका विशिष्ट व्यक्तित्वहरूको विशेष आतिथ्यतामा म्युजिक भिडियो र सटमूवी सार्वजनिक गरिएको हो।
समाज र मानवीय भावनासँग जोडिएका विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘आश्रम’ सर्ट फिल्ममा विजय के.सी., निरु बुढा मगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। त्यस्तै चाँदनी, शेरबहादुर डी.सी. र दीपक कपाली अतिथि कलाकारका रूपमा देखिएका छन् भने रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारको भूमिका निर्वाह गरेका छन्।
सर्ट फिल्मको कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गरेका हुन्। फिल्मका निर्माता इन्द्र खड्गी रहेका छन् भने प्रस्तुति देवकुमारी खड्गीको रहेको छ।
कार्यक्रममा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कलामार्फत प्रस्तुत गर्ने प्रयासको प्रशंसा गरेका थिए।
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ले दर्शकको मन जित्ने विश्वास सवैले व्यक्त गरेको छ।


