
काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा अध्यक्ष पदमा युविका भण्डारी र महासचिवमा कृष्णप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै पर्यटन व्यवसायीको विश्वास जित्ने अभियान अघि बढाएका छन्।
नाट्टाको २०२६–२०२८ कार्यकालका लागि आगामी साउन २९ गते अर्थात् १४ अगस्ट २०२६ मा निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहले आ–आफ्ना उम्मेदवार र एजेन्डा सार्वजनिक गरिरहेका छन्। यही प्रतिस्पर्धाबीच भण्डारी–ढकाल समूहले नयाँ पुस्ताको नेतृत्व, व्यवसायिक अनुभव र संस्थागत निरन्तरताको संयोजनलाई आफ्नो मुख्य आधार बनाएको छ।
बदलिँदो पर्यटन बजार, प्रविधिको तीव्र विस्तार र पर्यटन व्यवसायीले भोगिरहेका व्यावहारिक समस्यालाई सम्बोधन गर्न नाट्टामा समयअनुकूल नेतृत्व आवश्यक रहेको समूहको भनाइ छ। नाट्टालाई थप व्यावसायिक, प्रविधिमैत्री, सदस्यकेन्द्रित र परिणाममुखी संस्था बनाउने उनीहरूले प्रतिबद्धता जनाएका छन्।
सदस्यका समस्या समाधान पहिलो प्राथमिकता
अध्यक्षकी उम्मेदवार युविका भण्डारी पर्यटन क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। नाट्टाको नेतृत्वमा नयाँ पुस्ताको सहभागिता बढाउने, सदस्य व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने तथा सरकारसँग नीतिगत पैरवीलाई प्रभावकारी बनाउने उनको मुख्य प्राथमिकता रहेको बताइएको छ।
महासचिवका उम्मेदवार कृष्णप्रसाद ढकाल भने पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी हुन्। ठमेलस्थित ‘डिजायर नेपाल ट्रेक्स, ट्राभल एन्ड टुर्स’का अध्यक्ष रहेका ढकाल ट्रेकिङ, सांस्कृतिक पर्यटन, साहसिक यात्रा, हवाई टिकटिङ तथा अन्तर्राष्ट्रिय पर्यटन सहकार्यमा लामो समयदेखि सक्रिय छन्।
नाट्टाको बोर्ड सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका ढकालले संस्थाको आन्तरिक संरचना, चुनौती तथा सदस्य व्यवसायीका समस्यालाई नजिकबाट बुझेको समूहको दाबी छ। ३० भन्दा बढी देशको भ्रमण तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँगको प्रत्यक्ष अनुभवले उनलाई विश्व पर्यटनका बदलिँदा प्रवृत्ति, नयाँ सम्भावना र प्रतिस्पर्धाबारे व्यवहारिक ज्ञान रहेको बताइएको छ।
प्रविधिमैत्री र परिणाममुखी नाट्टाको एजेन्डा
भण्डारी–ढकाल समूहले नाट्टालाई सदस्यकेन्द्रित, प्रविधिमैत्री र परिणाममुखी संस्था बनाउने एजेन्डा अघि सारेको छ। सदस्य व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी सचिवालय निर्माण, नयाँ अन्तर्राष्ट्रिय बजार तथा गन्तव्यको खोजी, पर्यटन प्रवद्र्धनमा सहकार्य, युवा नेतृत्व विकास र व्यवसायीको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, हवाई टिकटिङ तथा हवाई यातायातका समस्या समाधान, डिजिटल प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जुध्न व्यवसायीको क्षमता अभिवृद्धि, पर्यटकको बदलिँदो रुचिअनुसार नयाँ उत्पादन तथा गन्तव्य विकास र पर्यटनसम्बन्धी नीतिनिर्माणमा निजी क्षेत्रको प्रभावकारी सहभागिताका लागि सशक्त पैरवी गर्ने प्रतिबद्धता समूहले जनाएको छ।
यस्तो छ भण्डारी–ढकाल समूहको प्यानल
सार्वजनिक गरिएको प्यानलअनुसार अध्यक्षमा युविका भण्डारी, वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा धकनाथ काफ्ले र महासचिवमा कृष्णप्रसाद ढकाल उम्मेदवार रहेका छन्।
त्यस्तै सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल तथा सह–कोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार छन्।
कार्यसमिति सदस्यतर्फ राजेन्द्रप्रसाद त्रिपाठी, प्रदीपप्रसाद उदय, बिवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता र होमबहादुर परियार उम्मेदवार रहेका छन्।
यसपटकको निर्वाचनमा भण्डारी–ढकाल समूहसँगै अन्य दुई समूहले पनि आफ्नो प्यानल सार्वजनिक गरेका छन्। भरत जङ्ग पाण्डे र जिस्वन तुलाधर श्रेष्ठ नेतृत्वका समूहले पनि छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
युवा ऊर्जा र अनुभवको संयोजन
नाट्टाको आगामी नेतृत्वका लागि केवल पदभन्दा पनि स्पष्ट दृष्टिकोण, अनुभव र परिणाम दिने क्षमता आवश्यक रहेको भण्डारी–ढकाल समूहको भनाइ छ।
अध्यक्षमा युवा व्यवसायी युविका भण्डारी र महासचिवमा संस्थागत अनुभव भएका व्यवसायी कृष्णप्रसाद ढकालको उम्मेदवारीलाई समर्थकहरूले युवा ऊर्जा र अनुभवी नेतृत्वको संयोजनका रूपमा लिएका छन्।
पर्यटन व्यवसायीका वास्तविक समस्या बुझ्ने, सदस्यलाई केन्द्रमा राखेर निर्णय गर्ने र प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्ने नेतृत्व अहिलेको आवश्यकता रहेको दाबी गर्दै भण्डारी–ढकाल समूहले आफूलाई नाट्टाका व्यवसायीका लागि विश्वासिलो र व्यावसायिक विकल्पका रूपमा प्रस्तुत गरेको छ।


