
काठमाडौं — गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
आइतबार राजधानीको न्यूरोडस्थित रञ्जना हलमा आयोजित विशेष समारोहमा अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई फिल्मी गीतको शैलीमा प्रस्तुत गरिएको गीत डा. झाको ‘जीवन पथ–२’ एल्बममा समावेश छ। गीतमा डा. झाकै शब्द, संगीत र स्वर रहेको छ भने एरेन्ज पविधान खालिङले गरेका छन्। किशोर थापाले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
गीतको म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा दुवैलाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ। कबिराज गहतराजले निर्देशन, कथा लेखन तथा कोरियोग्राफी गरेका भिडियोको छायांकन रामशरण उप्रेतीले गरेका हुन्। मनोज कार्कीले सम्पादन, कलर तथा जीएफएक्सको जिम्मेवारी सम्हालेका छन्। सरोज पाण्डेको मेकअप र सूर्य ओलीको प्रोडक्सन रहेको छ।
गीत तथा भिडियो सार्वजनिक कार्यक्रममा डा. झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। ‘जीवन पथ–२’ अन्तर्गत सार्वजनिक गरिएको ‘न गाँस्थे म प्रित’ मार्फत अव्यक्त प्रेम र भावनालाई संगीतका माध्यमबाट प्रस्तुत गर्न खोजिएको उनले बताए।
निर्देशक तथा कोरियोग्राफर गहतराजले गीत सुन्नासाथ आफूलाई त्यसले कल्पनाको संसारमा पुर्याएको र त्यही अनुभूतिका आधारमा रोमान्टिक भिडियो तयार गरिएको बताए।
अध्ययनका क्रममा भारतमा रहेकी भिडियोकी मोडल तथा डा. झाकी छोरी सोहल्या झाले भिडियो सन्देशमार्फत आफूले ६ वर्षसम्म सिकेको भरतनाट्यमको अनुभव भिडियो निर्माणमा उपयोगी भएको बताइन्। बुवाको गीतको भिडियोमा काम गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो।
अर्का कलाकार सुरेश कोहलीले ‘न गाँस्थे म प्रित’ को भिडियोमा काम गर्दा फिल्मी गीत र त्यसको भिडियोमा अभिनय गरेजस्तो अनुभव भएको बताए।
कार्यक्रममा गायक राजेशपायल राईले डा. झाको सांगीतिक प्रतिभाको प्रशंसा गर्दै संगत र स्वर सुनेपछि आफूले उनको प्रतिभा अझ नजिकबाट अनुभूति गरेको बताए। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. झाको नशा–नशामा संगीत रहेको भन्दै उनको सांगीतिक यात्राको प्रशंसा गरे।
म्युजिक भिडियो सार्वजनिक भएसँगै ‘न गाँस्थे म प्रित’ डा. रणजित कुमार झाको युट्युब च्यानलसहित विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध भएको छ। कार्यक्रममा डा. झाको परिचयात्मक भिडियोसँगै उनका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’ का भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।
चिकित्सा र संगीत दुवै क्षेत्रमा सक्रिय डा. झाले बंगलादेशबाट एमबीबीएस तथा महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट एमडी गरेका छन्। भारतको अपोलो अस्पतालबाट मधुमेह र मुटुसम्बन्धी दुई विषयमा फेलोसिपसमेत गरेका उनले सप्तरीको कल्याणपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रबाट चिकित्सकीय सेवा सुरु गरेका थिए।
२१ वर्षभन्दा लामो चिकित्सकीय सेवाका क्रममा जिरी अस्पताल दोलखा, प्रादेशिक अस्पताल लहान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज हुँदै हाल वीर अस्पतालमा कार्यरत डा. झाले विभिन्न अस्पतालको नेतृत्वसमेत सम्हालिसकेका छन्।
करिब तीन दशक लामो सांगीतिक यात्रामा गीत लेखन, संगीत सिर्जना र गायनलाई निरन्तरता दिँदै आएका डा. झा स्वास्थ्य तथा संगीत क्षेत्रमा योगदानका कारण विभिन्न सम्मानबाट सम्मानित भइसकेका छन्। स्वास्थ्य क्षेत्रमा योगदानका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री २०७७ बाट विभूषित उनी २०७२ सालको भूकम्पका बेला पुर्याएको सेवाका लागि हङ्वान्जी बुद्धिस्ट सोसाइटी अफ नेपाललगायतका संस्थाबाट पनि सम्मानित भएका छन्।
संगीततर्फ उनले नेपाली हिमालयन म्युजिक अवार्ड २०७२, १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०२५ अन्तर्गत म्युजिक खबर संगीतकर्मी सम्मान तथा निम अवार्ड संगीतकर्मी सम्मान २०२५ लगायतका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।


