
काठमाडौं — मिसेस नेपालकी उपविजेता तथा लायन्स क्लब अफ काठमाडौं महिमाकी प्रथम उपाध्यक्ष रञ्जना बुढाथोकी थाइल्यान्डमा आइतबार आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘लायन्स हिरो अफ द इयर २०२५’ तथा ‘पावर अफ वुमन अवार्ड’ बाट सम्मानित भएकी छन्।
लायन्स क्लबमार्फत समाजसेवामा पुर्याउँदै आएको योगदान, नेतृत्व क्षमता, समर्पण तथा मानवसेवाप्रतिको निरन्तर प्रतिबद्धताको कदरस्वरूप बुढाथोकीलाई उक्त सम्मान प्रदान गरिएको हो।
सौन्दर्य प्रतियोगिताबाट प्राप्त पहिचानलाई समाजसेवासँग जोड्दै नारी नेतृत्व, सामाजिक उत्तरदायित्व र सेवाभावमा सक्रिय बुढाथोकीको योगदानलाई सम्मानले थप प्रोत्साहन मिलेको आयोजकले जनाएको छ।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले समाजसेवा र महिला नेतृत्वमा सक्रिय नेपाली महिलालाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नु गौरवको विषय भएको बताए। यस्ता सम्मानले सामाजिक सेवामा लागेका महिला तथा युवालाई थप उत्साह र प्रेरणा प्रदान गर्ने उनको भनाइ थियो।
सापकोटाले नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई सामाजिक सेवासँगै पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्नेमा जोड दिए। थाइल्यान्डका नागरिकलाई नेपाल भ्रमणमा आकर्षित गर्न लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथलगायत धार्मिक तथा सांस्कृतिक गन्तव्यको प्रभावकारी प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा नेपाल तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले बुढाथोकीको सम्मान नेपाली महिलाको नेतृत्व क्षमता, सेवाभाव र सामाजिक योगदानको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले समाजसेवालाई आफ्नो व्यक्तिगत पहिचानसँग जोडेर निरन्तर अघि बढ्ने महिलालाई यस्ता सम्मानले थप ऊर्जा र प्रेरणा प्रदान गर्ने उल्लेख गरे।
रञ्जना बुढाथोकीलाई प्राप्त सम्मानले सामाजिक सेवा, महिला नेतृत्व र मानवसेवाका क्षेत्रमा नेपाली महिलाको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गरेको आयोजकले जनाएको छ।


