
काठमाडौं — युवा उद्यमी पूजनबाबु भट्टराई आइतबार थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘इमर्जिङ ग्लोबल एम्प्लोयमेन्ट इन्टरप्रेन्योर’ विधामा सम्मानित भएका छन्।
रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा युवालाई व्यवसायिक अवसरसँग जोड्न पुर्याएको योगदानको कदरस्वरूप भट्टराईलाई उक्त सम्मान प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, रोजगारी, सामाजिक सेवा, पर्यटन, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले युवाको उद्यमशीलता र रोजगारी सिर्जनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले नयाँ पुस्तालाई उद्यम र रोजगार सिर्जनातर्फ आकर्षित गर्न यस्ता सम्मानले थप प्रेरणा दिने धारणा व्यक्त गरे।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले पूजनबाबु भट्टराईको सम्मान रोजगारी सिर्जना र युवा उद्यमशीलताको क्षेत्रमा अघि बढिरहेको सकारात्मक प्रयासको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले युवाको क्षमता र सीपलाई अवसरसँग जोड्दै रोजगारी सिर्जना गर्ने उद्यमीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको उल्लेख गरे।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
भट्टराईलाई प्राप्त सम्मानले नेपाली युवा उद्यमशीलता तथा रोजगारी सिर्जनाको क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान थप विस्तार गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।


