
काठमाडौं — युवा उद्यमी मौसम पराजुली थाइल्यान्डमा आइतबार आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘Entrepreneur | Fashion Jewelry Retailer & International Trade’ विधामा सम्मानित भएका छन्।
फेसन ज्वेलरीको खुद्रा व्यापार, उद्यमशीलता तथा अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप पराजुलीलाई उक्त सम्मान प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा व्यवसाय, उद्यमशीलता, सामाजिक सेवा, पर्यटन, शिक्षा, सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली उद्यमीले व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। नेपाली उत्पादन तथा व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न यस्ता सम्मानले थप हौसला प्रदान गर्ने उनको भनाइ थियो।
सापकोटाले नेपाल–थाइल्यान्डबीचको व्यापारिक सम्बन्धसँगै पर्यटन सहकार्यलाई समेत थप विस्तार गर्नुपर्नेमा जोड दिए। उनले थाइल्यान्डका पर्यटकलाई नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यतर्फ आकर्षित गर्न प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको बताए। लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, पोखरा, चितवन तथा सगरमाथालगायत गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै पर्यटन र व्यवसायलाई एकअर्कासँग जोड्न सके नेपालको अर्थतन्त्रमा थप टेवा पुग्ने उनको धारणा थियो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले मौसम पराजुलीको सम्मान नेपाली युवा उद्यमशीलता र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा देखिएको सम्भावनाको प्रतिनिधित्व गर्ने बताए। उनले नेपाली उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै व्यापारको दायरा विस्तार गर्न निरन्तर प्रोत्साहन आवश्यक रहेको उल्लेख गरे।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
पराजुलीलाई प्राप्त सम्मानले फेसन ज्वेलरी व्यवसाय, उद्यमशीलता तथा अन्तर्राष्ट्रिय व्यापारमा नेपाली व्यवसायीको उपस्थितिलाई थप प्रोत्साहन र पहिचान दिलाउने आयोजकले जनाएको छ।


