
काठमाडौं — सांस्कृतिक अभियन्ता तथा कलाकार रोशन महर्जन थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘अमूर्त सांस्कृतिक सम्पदा संरक्षण तथा प्रस्तुति कला’ विधामा सम्मानित भएका छन्।
नेपालको अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत कला तथा प्रस्तुति कलाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा पुर्याएको योगदानको कदरस्वरूप महर्जनलाई उक्त सम्मान प्रदान गरिएको हो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालि. र हिमालयन कम्युनिटी प्रोजेक्टको संयुक्त आयोजनामा सम्पन्न समारोहमा कला, संस्कृति, साहित्य, पर्यटन, शिक्षा, सामाजिक सेवा, व्यवसाय तथा सञ्चारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
कार्यक्रमका सभापति तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपालको मौलिक कला, संस्कृति र परम्परा देशको महत्वपूर्ण पहिचानसँगै पर्यटनको आधार भएको बताए। उनले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक कला र संस्कृतिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे।
सापकोटाले नेपालका सांस्कृतिक सम्पदा, परम्परागत कला तथा प्रस्तुति कलालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न सके नेपालको पर्यटन विकासमा थप योगदान पुग्ने बताए। नेपाल–थाइल्यान्डबीच सांस्कृतिक आदान–प्रदानलाई अझ विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
वर्ल्ड वाइड प्रोडक्सन मिडिया प्रालिका अध्यक्ष कुमार चौलागाईंले रोशन महर्जनलाई प्रदान गरिएको सम्मान नेपाली अमूर्त सांस्कृतिक सम्पदा र प्रस्तुति कलाको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। उनले मौलिक कला र संस्कृति संरक्षणमा सक्रिय स्रष्टा तथा अभियन्तालाई प्रोत्साहन गर्दा भावी पुस्तामा समेत सांस्कृतिक सम्पदा हस्तान्तरण गर्न सहयोग पुग्ने उल्लेख गरे।
समारोहमा प्रमुख अतिथिका रूपमा प्रा. भारती ओख्राबो लिम्बुनी तथा विशेष अतिथिका रूपमा एनआरएनए–पीएनओका अध्यक्ष एवं थाई नेप्ली एसोसिएसनका पूर्व अध्यक्ष कुमार कार्की र थाई नेप्ली एसोसिएसनकी पूर्व अध्यक्ष वासना राईलगायतको उपस्थिति थियो।
महर्जनलाई प्राप्त सम्मानले नेपालको अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत कला तथा प्रस्तुति कलाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गरेको आयोजकले जनाएको छ।


