
काठमाडौं — भोटेकोशीमा आएको विनाशकारी बाढीमा परिवारका पाँच सदस्य गुमाएको असह्य पीडाबाट गुज्रिरहेकी न्यूज लाइन्स् नेपाल डटकमकी सम्पादक सरिता ढकालमाथि अर्को बज्रपात परेको छ। ढकालकी ममतामयी आमा इन्द्रकुमारी ढकालको ९५ वर्षको उमेरमा २०८३ साल भदौ ३० गते काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा निधन भएको छ।
भोटेकोशीमा आएको बाढीबाट उद्धार गरिएकी इन्द्रकुमारीलाई उद्धारपछि निमोनियाको समस्या देखिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई ग्रिन सिटी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। करिब १५ दिनसम्म अस्पतालमा उपचाररत उहाँलाई बचाउन चिकित्सक तथा परिवारजनले निरन्तर प्रयास गरे पनि अन्ततः उहाँको निधन भएको हो।
इन्द्रकुमारीले भोटेकोशीमा आएको बाढीबाट आफ्ना दुई छोरा, बुहारी, नातिनी र ज्वाइँ गरी परिवारका पाँच प्रिय सदस्य बाढीमा गुमाउनुभएको थियो। आफ्ना सन्तान तथा परिवारका सदस्य गुमाएको पीडा बोकेर उपचाररत रहनुभएकी उहाँले अन्ततः आफैँ पनि संसारबाट बिदा लिनुपरेको छ।
एउटै प्राकृतिक विपत्तिले परिवारका प्रियजनहरू खोसिदिएको पीडा नसकिँदै आमाको निधनले ढकाल परिवारमा थप शोक थपिएको छ। एकपछि अर्को बज्रपातले परिवारलाई गहिरो पीडामा डुबाएको छ।
आमाको निधनप्रति शोक व्यक्त गर्दै न्यूज लाइन्स् मिडिया प्रा.लि. परिवारले सम्पादक सरिता ढकालसहित सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
यस दुःखद् तथा असह्य वियोगको घडीमा भगवान् पशुपतिनाथले शोकसन्तप्त परिवारलाई यो अकल्पनीय पीडा सहन सक्ने धैर्य, शक्ति र साहस प्रदान गरून्। साथै दिवंगत इन्द्रकुमारी ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माले चिरशान्ति पाओस् भन्ने कामना गर्दछौँ।
ममतामयी आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि।


