
अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रतिबद्धता
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकाका पीडित परिवारलाई श्री किका साइन्टिक्स फाउन्डेसन तथा सामाजिक सेवा संस्थाले खाना पकाउने भाँडाकुँडा, म्याट, ओढ्ने–ओछ्याउने तथा आवश्यक घरायसी सामग्री सहयोग गरेको छ।
बाढीका कारण प्रभावित परिवारलाई राहतस्वरूप आवश्यक सामग्री वितरण गर्नुका साथै संस्थाले बाबुआमा गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
संस्थाकी अध्यक्ष लक्ष्मी तामाङले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सामाजिक संस्थाको दायित्व भएको बताउनुभयो।
“बाढीबाट प्रभावित परिवारको पीडा हामीले महसुस गरेका छौँ। त्यसैले आवश्यक घरायसी सामग्री सहयोग गरेका छौँ। बाबुआमा गुमाएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिन संस्थाले निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेको छ। बालबालिकाको उज्ज्वल भविष्यका लागि हामी निरन्तर सहयोग गर्नेछौँ,” अध्यक्ष तामाङले भन्नुभयो।
संस्थाको सहयोगले बाढीपीडित परिवारलाई राहत पुग्नुका साथै अभिभावकविहीन बालबालिकाको शिक्षामा निरन्तरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


