
मीठो वास गुराँस छर्छ वनमा, शैलेन्द्र मुस्काउँछ
गौरीशङ्करको अनन्त महिमा, यो देशले गाउँछ
भाषा, भेष, कला र संस्कृति सबै, बुझ्दैछ मेरो मन
नेपाली हुनुमा छ गर्व अति नै, भन्ने कथा लेख्छु म ।।१।।
खोल्दा लोचन देख्छु यो मुलुकमा, छन् देश छाड्ने जन
भन्छन् देश छ रोजगार नदिने, बाँधूँ कसोरी मन
पर्दा गर्न तयार छौँ जन भने, के देशले दिन्न र ?
आफैँ कोर्छु भविष्य भन्न सकिने, यस्तो कथा लेख्छु म ।।२।।
पाखा छन् सब रिक्त मानिसहरू छाडेर अन्तै गए
आशा भर्न सकिन्छ यो धरतिमा, माटो सबैले लिए
खाना खान समेत मुस्किल हुने सारा व्यथा देख्छु म
माटोमै सब रम्न तत्पर हुने, यस्तो कथा लेख्छु म ।।३।।
डट्नैपर्छ सबै सुमार्ग पथमा, राम्रो गराई गति
खाली क्वै नबसून् र उद्यम गरून्, साझा बनाई मति
उत्साही यस देशका युवक हुन्, आशा यही गर्छु म
अज्ञानी पनि ज्ञान आर्जन गरोस्, यस्तो कथा लेख्छु म ।।४।।
होऊन् सार्थक कर्म यत्न सब यी, बाँकी निकै गर्नु छ
पुग्दा यो दुनियाँ कुना हर कुना, प्यारो त नेपाल छ
नेपाली जन उड्दछन् गगनमा, सोच्दैछ मेरो मन
प्यारो देश सदैव उज्ज्वल हुने, यस्तो कथा लेख्छु म ।।५।।


