
‘घुन्सा घटना : संरक्षणकर्मीहरूको अमर योगदान र संरक्षणको निरन्तर आवश्यकता’ विषयमा विशेष स्मृति सभा
काठमाडौं, असोज ७, २०८३ । २०औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा घुन्सा हेलिकोप्टर दुर्घटनामा दिवंगत संरक्षणकर्मीहरूको योगदान र समर्पणको स्मरण गर्दै काठमाडौंको धापासीस्थित रैथाने घरमा विशेष स्मृति सभा सम्पन्न भएको छ।
विश्व प्रकृति संरक्षण नेपाल (WWN Nepal) को नेतृत्वमा रैथाने एग्री प्रडक्ट्स नेपाल, रैथाने रिसर्च सेन्टर, रैथाने संरक्षण नेपाल तथा किवानिस इन्टरनेसनलको सहकार्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. दिनेश चन्द्र देवकोटाले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सहभागीहरूले दिवंगत संरक्षणकर्मीहरूको सम्मानमा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्ने ऐतिहासिक प्रक्रियामा सहभागी भएर फर्कने क्रममा घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा प्रकृति, जैविक विविधता तथा समुदायमा आधारित संरक्षणका क्षेत्रमा योगदान पुर्याउँदै आएका संरक्षणकर्मीहरूको निधन भएको थियो।
कार्यक्रममा ‘घुन्सा घटना : संरक्षणकर्मीहरूको अमर योगदान र संरक्षणको निरन्तर आवश्यकता’ विषयमा धनप्रसाद राईले मन्तव्य राख्नुभएको थियो। डा. अलोक प्रसाईले संरक्षणसम्बन्धी धारणा प्रस्तुत गर्नुभएको थियो भने शिवप्रसाद आचार्य र बलराम खतिवडाले कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रोषण सेरचन र किवानिस इन्टरनेसनलका भाइस गभर्नर राजनप्रसाद नेउपाने सहभागी हुनुभएको थियो।
सो अवसरमा प्रमुख अतिथि डा. दिनेश चन्द्र देवकोटालाई WWN Nepal को आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। साथै नेपाल प्रज्ञा–प्रतिष्ठानको सचिवमा नियुक्त हुनुभएका डा. रोषण सेरचन र किवानिस इन्टरनेसनलको भाइस गभर्नरमा निर्वाचित राजनप्रसाद नेउपानेलाई खादा तथा टीका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले घुन्सा दुर्घटनामा दिवंगत संरक्षणकर्मीहरूले प्रकृति र जैविक विविधता संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनीहरूले देखाएको संरक्षणको बाटोलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको स्वागत शंकरप्रसाद गौतमले गर्नुभएको थियो भने सञ्चालन शिखरजङ्ग श्रेष्ठले गर्नुभएको थियो। समापनमा WWN Nepal का अध्यक्ष तिलक ढकालले कार्यक्रममा उपस्थित अतिथि, संरक्षणकर्मी, विज्ञ, शुभेच्छुक तथा सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ–संस्था, संरक्षणकर्मी, विज्ञ, शुभेच्छुक तथा विभिन्न क्षेत्रका ५० भन्दा बढीको सहभागिता रहेको थियो।
सहभागीहरूका लागि रैथाने कोदोको सेल, मासको बटुक, भाङको चट्नी तथा मोहीको समेत व्यवस्था गरिएको थियो।
‘उहाँहरूले देखाएको बाटो अघि बढाउनु नै सच्चा श्रद्धाञ्जली’
कार्यक्रमका वक्ताहरूले घुन्सा दुर्घटनामा दिवंगत संरक्षणकर्मीहरूको योगदानलाई प्रत्येक वर्ष स्मरण गर्नुका साथै उनीहरूले अघि सारेको समुदायमा आधारित संरक्षण, जैविक विविधताको संरक्षण र प्रकृतिप्रतिको समर्पणलाई व्यवहारमा निरन्तरता दिनु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका थिए।


