
काठमाडौं । नेपाली शेफ सोसाइटीको अधिवेशनले एल. बी. कौसलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट महासचिवमा गिरिराज भट्टसहित पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन्।
शेफ तथा पाककला क्षेत्रका पेशाकर्मीहरूको साझा संस्थाका रूपमा रहेको नेपाली शेफ सोसाइटीको नयाँ नेतृत्वले नेपाली पाककलाको प्रवर्द्धन, शेफहरूको पेशागत विकास, सीप तथा क्षमता अभिवृद्धि र पेशागत हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त राई, उपाध्यक्षमा चन्द्र घले, महासचिवमा गिरिराज भट्ट, सचिवमा भरत सुनुवार, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा प्रह्लाद के.सी. सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा गोपाल भट्टराई, हस्तबहादुर तामाङ, साधुराम चौलागाईं, मदनप्रसाद सिम्खडा, मनोज सिलवाल, अर्जुन मगर, रिम पन्त र पूर्ण श्रेष्ठ चयन भएका छन्। अधिवेशनले शिवहरि घिमिरे र सुरेश थापालाई सल्लाहकारमा चयन गरेको छ। पदेन सदस्यमा चितवनबाट बाबुशरण श्रेष्ठ, गण्डकीबाट पूर्णभक्त ढकाल र कोशीबाट रमेश थापा रहेका छन्।
नयाँ कार्यसमितिले नेपाली शेफहरूको पेशागत सम्मान र पहिचान स्थापित गर्ने, सीप तथा क्षमता विकासका अवसर विस्तार गर्ने, पाककला क्षेत्रलाई थप व्यवस्थित बनाउने तथा नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। देश तथा विदेशमा रहेका नेपाली शेफ, पाककला क्षेत्रका पेशाकर्मी, प्रशिक्षक, विद्यार्थी तथा शुभेच्छुकलाई संस्थासँग सहकार्य र सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको छ।
अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन हुनु संस्थाभित्रको एकता, सहकार्य र साझा प्रतिबद्धताको संकेत भएको सहभागीहरूले बताएका छन्। नयाँ नेतृत्वले देशभरका शेफ तथा होटल–आतिथ्य क्षेत्रमा आबद्ध पेशाकर्मीलाई संस्थासँग जोड्दै नेपाली पाककलाको पहिचान र शेफ पेशाको गरिमालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


